पर्यटकको रोजाइमा भोजपुरको महभिर झरना

युवराज विष्ट
१७ भदौ २०७९ १४:२०

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुन थालेको छ। गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको बृद्धि हुन थालेको हो।

गाउँपालिकाको वडा न. ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ। विगतका वर्षहरुमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन्।

बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिसहरु झरनाको मज्जा लिन पुग्ने गरेका छन्।

गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ। भोजपुर सदरमुकामबाट करीब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब साढे चार किलोमिटर पश्चिममा अवस्थिति यो झरनामा बाह्रै महीना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११ देखि १२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयको भनाइ छ।

विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

पर्यटकले झरनासम्म पुगेर मनोरम दृश्य अवलोकन गर्ने गरेका छन्। झरनाको अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिव कुमार राईले बताए।

स्थानीयबासी राईले भने, ‘यो झरनामा पर्यटकको संख्यामा बृद्धि भइरहेको छ। गाउँपालिका केन्द्र तथा सदरमुकामबाट जनिकै रहेकोले पनि झरना हेर्न दैनिक जसो मानिसहरु आउने गरेका छन्।’

भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकोले झरना हेर्ने मानिसहरुको संख्यामा बृद्धि भएको देखिन्छ। झरना मुख्य राजमार्गबाट करिव साढे दुई किलोमिटर भित्रे रहेको छ। यो क्षेत्र भएर यात्रा गर्ने मानिसहरु प्राय झरनाको अवलोकन गर्न जाने गरेका छन्।

यो झरनासँगै गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवगमनको लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

जसका लागि अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं– ५ खावा, चोलन्ती लगाएत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हँुदै चखेवाभञ्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

अध्यक्ष बस्नेतले भने,‘पछिल्लो समय झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढेको छ। यो झरनासम्म पुग्नको लागि हामीले सहज अवगमनको व्यवस्था मिलाउने तयारीमा छौँ। यहाँ पुग्न पदमार्ग निर्माण गर्ने योजना छ । गुम्न आउने मानिसहरुले यहाँका मुख्य पर्यटकिय क्षेत्रहरु महभिर झर्ना, चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङ डाँडा एकै प्योजकमा घुम्न सक्ने गरी संरचना निर्माण गर्ने योजना छ।’

महभिर झरनालाई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमा राईले बताइन्। यहाँ आवश्यक केही पूर्वाधार निर्माण भएको भएपनि थप संरचना निर्माण गर्ने उनको भनाइ छ।

टेम्केमैयुङ प्राकृतिक श्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकोले यसलाई पर्यटनसँग जोडेर अगाडी बढाउने उपाध्यक्ष राईले जानकारी दिइन्।

उपाध्यक्ष राईले भनिन्,‘हाम्रो गाउँपालिका पर्यटकिय हिसावले निकै धनी छ। यहाँ दर्जनौँ पर्यटकिय क्षेत्र छन्। तिनीहरुको नमूनायोग्य विकास गरेर गाउँपालिकालाई पूर्वको एक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *