६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले नेपालमा काम गरे

डिसी नेपाल
१७ भदौ २०७९ १५:११
60
Shares

काठमाडौँ। नेपालमा बितेका ६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले काम गरेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् १९६२ सेप्टेम्बरयता हालसम्म उक्त संख्यामा अमेरिकी स्वयंसेवकले नेपालमा काम गरेका हुन्।

‘यो महिना पिस कोर–नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ,’ अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन्।’

पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौँ आइपुगेका थिए।

उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेको दूतावासको दाबी छ। उनीहरुले शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत क्षेत्रमा परियोजनाहरू सम्पन्न गरेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वका १४२ मुलुकमा सेवा गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *