राष्ट्रपति भण्डारीबाट गौरा पर्वका अवसरमा शुभकामना
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
गौरा पर्व २०७९ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
“गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, गहुँ, केराउ, गहतलगायत पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ”, सन्देशमा भनिएको छ, “यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment