बेपत्ता छोराको पर्खाइमा वृद्धा आमाहरू: ‘कि सास चाहियो, कि लास’
तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका-१२ हेमनगरकी ८० वर्षीया टीका डाँगीले छोराको बाटो हेर्न थालेको लामो समय भयो। आँखा टट्टाइसकेका छन्, आशा धमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ।
विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका डाँगीका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। डाँगी भन्छिन्, “ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ। कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन।”
बुढेसकालको सहारा होला भनेर इन्जिनियर पढाएको छोरा हराएपछि डाँगी अहिले एक्लो जीवन बिताउन बाध्य छन्। छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै डाँगीले राज्यसँग असन्तुष्टि व्यक्त गरिन्।
यस्तै पीडा तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारीकी निर्मला चौधरीको पनि छ। चौधरीका एक्ला छोरा विनोद चौधरी २०६० कात्तिक २ गतेदेखि सम्पर्कविहीन छन्। “एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष भइसक्यो, आमा हुँ, कसरी भुल्न सक्छु र?” चौधरीले भावुक हुँदै भनिन्।
त्यस्तै दङ्गीशरण गाउँपालिका-३ चितानपुरका हरिराम चौधरी २०५९ सालमा तुलसीपुरमा मल लिन आउँदा बेपत्ता भएका थिए। चौधरीका भाइ सीताराम चौधरीले अझै पनि दाजु घर फर्किने आशा नमरेको बताए।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकका आफन्तहरू वर्षौँदेखि यस्तै पीडादायी पर्खाइमा दिन बिताइरहेका छन्।
सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताका परिवारले न्याय पाउन सकेका छैनन्। “कि सास चाहियो, कि लास चाहियो भनेर निरन्तर आवाज उठाउँदा पनि सुनुवाइ भएको छैन,” उनले भनिन्, “सरकारले बेपत्ता व्यक्तिको वास्तविक अवस्था सार्वजनिक नगर्दा पीडित परिवारको पीडा ज्यूँकात्यूँ छ।”
सोह्रौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा दाङको तुलसीपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागी पीडितहरूले हरेक वर्ष औपचारिकताका लागि मात्र कार्यक्रम हुने गरेको भन्दै राज्यले तत्काल बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राखे। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment