एमाले मधेश प्रदेशको निर्णय: बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाइने, राहत कोषमा डेढ लाख सहयोग
बर्दिबास। नेकपा (एमाले) मधेश प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रहरूमा स्वयंसेवक टोली परिचालन गर्ने निर्णय गरेको छ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बर्दिबासमा आइतबार बसेको बैठकले मधेशका आठवटै जिल्लाबाट २५ जनाका दरले कुल २०० जना स्वयंसेवक बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो।
बैठकले तिब्बतमा हिमताल फुटेर भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदेश कमिटीका तर्फबाट केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
यसैगरी, बैठकले समसामयिक विषयमा आठबुँदे विशेष प्रस्ताव पारित गरेको छ। किसानहरूले रासायनिक मल, बीउ तथा कीटनाशक औषधिको अभाव झेलिरहेकाले तत्काल आपूर्ति सहज बनाउन, एलपीजी ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न र बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
साथै, स्वास्थ्य बीमा सुविधामा सङ्घीय सरकारले अनुदान कटौती गरेको भन्दै असन्तुष्टि जनाउँदै बीमा सेवालाई प्रभावकारी रूपमा निरन्तरता दिन थप बजेटको व्यवस्था गर्न माग गरिएको छ।
बैठकले प्रदेशमा पार्टीका पछिल्ला गतिविधिको समीक्षा गर्दै ‘मिसन पार्टी जागरण अभियान’ लाई थप प्रभावकारी बनाउने र त्यसका लागि आगामी भदौ २१ गते बर्दिबासमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment