भोटेकोशी बाढीः तीन हजारभन्दा बढीको उद्धार, एक हजार पाँच सय ५८ जना बेपत्ता भएको निवेदन
त्रिशूली (नुवाकोट)। भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको अकल्पनीय बाढीबाट प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ। बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानबाट हालसम्म तीन हजार २९ जनाको उद्धार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार उद्धार गरिएकामध्ये दुई हजार सात सय ७६ जना नेपाली नागरिक र दुई सय ५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै छ सय २४ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो।
बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिएर बसेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको प्रजिअ रेग्मीले बताउनुभयो। अन्यलाई भने परिवारसँग पुनर्मिलन गराइएको छ।
भोटेकोशी बाढीमा फसेकाको खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका भनिएका व्यक्तिको उद्धारबाहेक अन्य स्थानमा फसेका व्यक्तिको उद्धार लगभग अन्तिम चरणमा पुगेको हो।
यद्यपि रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा नियमित रूपमा हेलिकप्टरमार्फत हवाई निरीक्षण तथा खोजी भइरहेको प्रजिअ रेग्मीले बताए।
यसैबीच, भोटेकोशी बाढीपछि आफन्त हराएको भन्दै एक हजार पाँच सयभन्दा बढी परिवारले खोजतलासका लागि निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबारसम्म एक हजार पाँच सय ५८ जना हराएको भन्दै परिवारजनबाट निवेदन परेको छ।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
बाढीमा फसेका तथा बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि संयुक्त सुरक्षा फौजको टोली परिचालन गरिएको छ। खोजीमा हेलिकप्टरसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोटमा ९५ शव सङ्कलन
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला पारिएको हो।
सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षण तथा पहिचानका लागि नुवाकोटबाट काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले आफ्ना आफन्त बाढीपछि बेपत्ता भएको वा शव फेला परेको हुनसक्ने परिवारलाई शिक्षण अस्पताल महाराजगञ्जमा सम्पर्क गर्न अनुरोध गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता व्यक्तिको संख्या र मृतकको विवरण थप परिवर्तन हुनसक्ने सुरक्षा निकायले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment