पहिरो र बाढीले विभिन्न स्थानका सडक अवरुद्ध, यातायात ठप्प

डिसी नेपाल
१५ भदौ २०८३ ९:२६

काठमाडौँ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र लगातार भइरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि कतिपय स्थानमा यातायात तथा मानिसको आवतजावत पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडकको ठूलो भाग भासिएको छ। सडक भासिएर आवतजावत गर्नसमेत नसक्ने अवस्था बनेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ।

लगातारको वर्षाका कारण मुगुबाट गमगढीतर्फ आउने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षाका कारण सडकमा पहिरो तथा क्षति भएपछि यातायात सञ्चालन प्रभावित बनेको हो।

यसैगरी, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडक पनि अवरुद्ध भएको छ। सडकमा पहिरो तथा वर्षाजन्य क्षति भएपछि यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरस्थित बेँशीसहर–मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो तथा सडक कटानको जोखिम अझै कायमै रहेको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा निकायले आवश्यक पहल गरिरहेका छन्। यात्रु तथा सवारी चालकलाई वर्षाका कारण जोखिम बढेको क्षेत्रमा सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *