बोरिस जोनसन सबैभन्दा खराब प्रधानमन्त्री चुनिए
काठमाडौं । बेलायतमा हालै गरिएको एक सर्वेक्षणमा निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सन देशकै सबैभन्दा खराब प्रधानमन्त्री बनेका छन् । बजार अनुसन्धान कम्पनी इप्सोस ले गरेको सर्वेक्षणमा ४९ प्रतिशतले बोरिसले प्रधानमन्त्रीका रूपमा सबैभन्दा खराब काम गरेको बताएका छन् । यो सर्वेक्षण यस्तो समयमा आएको हो जब बोरिसको प्रधानमन्त्रीको कार्यकाल अर्को हप्ता सकिँदैछ ।
सर्वेक्षणमा बेलायतीहरूलाई सन् १९४५ पछिका प्रधानमन्त्रीको कार्यसम्पादनको रेटिङ दिन आग्रह गरिएको थियो जसमा ४९ प्रतिशतले बोरिस सबैभन्दा खराब प्रधानमन्त्री भएको बताएका थिए । सोही सर्वेक्षणमा ४१ प्रतिशतले थेरेसा मे र ३८ प्रतिशतले डेभिड क्यामरुनलाई सबैभन्दा खराब प्रधानमन्त्री भनेका छन् । योसँगै विन्स्टन चर्चिलले जनताबाट धेरै माया पाए र उनी सर्वेमा अहिलेसम्म बेलायतका उत्कृष्ट प्रधानमन्त्री घोषित भए । सर्वेक्षणमा सहभागी ६२ प्रतिशतले चर्चिलले आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेको बताएका छन्।
इप्सोस पोलिटिकल रिसर्च ग्रुपका निर्देशक करेन पेडलीले भने, “विन्स्टन चर्चिल हाम्रो प्रधानमन्त्रीको सूचीमा शीर्ष स्थानमा रहेका छन् जसलाई मानिसहरूले प्रधानमन्त्रीको रूपमा राम्रो काम गरेको मानेका छन्।” यसपछि दोस्रो स्थानमा मार्गरेट थ्याचर छिन् । जसको बारेमा मानिसहरू विश्वास गर्छन् कि उनले राम्रो काम गरिन्।
यस इप्सोस सर्वेक्षणमा ११०० जनाले भाग लिएका थिए। तर, बोरिस जोनसनका बारेमा ३३ प्रतिशतले प्रधानमन्त्री हुँदा राम्रो काम गरेको पनि बताएका छन् । ३६ प्रतिशत मानिसहरूले टोनी ब्लेयरको काम र ४३ प्रतिशतले मार्गरेट थ्याचरको कामको प्रशंसा गरे।
सर्वेक्षण अगस्ट १९ देखि २२ सम्म गरिएको थियो । तर, सर्वेक्षणले खराब प्रधानमन्त्रीको सूचीमा को शीर्ष स्थानमा रहने भन्नेमा जनतामा एक किसिमको पूर्वाग्रह रहेको बताएको छ ।
पेडले भने, बोरिस जोनसनको विरासतलाई कसरी न्याय गरिन्छ, समयले मात्र बताउनेछ। हामीले देखेका छौं, पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनको लोकप्रियता समयसँगै सुधार भएको छ। त्यसैगरी आजको समयको नकारात्मक धारणा पनि भविष्यमा हराउन सक्छ ।
प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको यो अन्तिम हप्ता हुनेछ। सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको घोषणा हुनेछ । उनको मन्त्रिपरिषद्मा अर्थमन्त्री रहेका ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसमध्येका एक उनको उत्तराधिकारी हुनेछन्।
जोनसनले गत वर्ष जुलाईमा पार्टीगेट स्क्यान्डललगायतका विभिन्न आरोपपछि बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी देशको अर्को प्रधानमन्त्री निर्वाचित नभएसम्म यो पदमा रहनेछन् ।







डिसी नेपाल







Facebook Comment