राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज यहाँ आयोजित स्मृतिसभामा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।
काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिन् ।
काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथि थिए । तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ थिए ।
नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।
सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्याएको स्मरण गरे ।
पाँडेको बारेमा अनुसन्धान गर्नुभएका डा कृष्णकुमार पाँडेले पृथ्वीनारायण शाहले एकीकरणका क्रममा आक्रमणको योजना बनाएका रणनीतिकरुपले महत्वपूर्ण विभिन्न स्थानमा साथ दिएर काजी तुलाराम पाँडेले नेपाललाई एक ढिक्का बनाउने काममा ठूलो सहयोग पुर्याएको बताए ।
सो प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले देशका लागि युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्ने काजी कालु पाँडे र काजी तुलाराम पाँडे नेपालका वीर योद्धा थिए भने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment