इटलीको प्रधानमन्त्रीको चुनाबमा कट्टर राष्ट्रवादी जर्जियालाई अग्रता
काठमाडौं । इटालीमा नयाँ प्रधानमन्त्रीका लागि ऐतिहासिक निर्वाचन हुन लागेको छ । यसपटक राष्ट्रियताको मुद्दा केन्द्रमा छ । दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीकी जर्जिया मेलोनी (४५) प्रधानमन्त्री पदको दौडमा अगाडि छिन् ।
चार वर्षअघि मात्र ४.१३ प्रतिशत मत पाएको मेलोनीको पार्टीले २५ प्रतिशत मतदाताको समर्थन पाइरहेको छ । मेलोनीको लोकप्रियता दुई वर्षमा गगनचुम्बी छ। जर्जिया मेलोनी इस्लामिक आतंकवाद, आप्रवासी र एलजीबीटी अधिकारको कट्टर विरोधी हुन्।
मेलोनीको पार्टी सेन्टर लेफ्ट डेमोक्रेटिक पार्टीसँग प्रतिस्पर्धामा छ । यस पार्टीका मारियो ड्रागी हाल इटालीका प्रधानमन्त्री छन् । ड्रागीले गठबन्धन सरकार चलाउँदै आएका थिए । अन्य दलको समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा पुग्यो । यस्तो अवस्थामा इटालीमा छिट्टै चुनाव हुँदैछ ।
पछिल्लो सर्वेक्षणमा ड्रागीको पार्टीलाई १४ प्रतिशत मतदाताको मात्र समर्थन रहेको छ । मेलोनीले आफ्नो पार्टीको पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको पार्टी फोर्जा इटालियासँग गठबन्धन गरेकी छन् । बर्लुस्कोनीको पार्टी पनि दक्षिणपन्थी छ। यस्तो अवस्थामा मेलोनी र बर्लुस्कोनीको पार्टीले गठबन्धन सरकार बनाउने सम्भावना छ ।
जर्जिया मेलोनी इटालियन तानाशाह बेनिटो मुसोलानीलाई नायक मान्छिन्। लोकतन्त्रको मुद्दामा मात्रै मुसोलानीको विचारमा आफूहरू सहमत नहुने उनको भनाइ छ। मेलोनी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको समर्थक हुन्।
आईएम जर्जिया नामक पुस्तककी लेखिका जर्जिया एकल आमा हुन्। उनी तत्कालीन प्रधानमन्त्री बर्लुस्कोनीको सरकारमा मन्त्री भइसकेकी छिन्। यदि उनले चुनाव जितिन् भने मेलोनी पहिलो महिला प्रधानमन्त्री हुनेछिन् ।







डिसी नेपाल







Facebook Comment