ज्वालामुखीलाई नजिकबाट हेर्न भन्दै जाँदा ८ जनाको मृत्यु
काठमाडौं । युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी चढ्ने क्रममा ८ जनाको मृत्यु भएको छ । यो ज्वालामुखी करिब १६ हजार फिट अग्लो छ । तर ती व्यक्तिहरू १३ हजार फिटको उचाइमा मात्र पुग्न सके र त्यहाँबाट सबै मानिस खसे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यो ज्वालामुखी रुसको पूर्वी क्षेत्र कामचटकामा अवस्थित छ । यसको नाम क्ल्युचेभ्स्काया सोप्का हो। यो १५,८८४ फिट अग्लो छ।
ज्वालामुखी चढ्ने क्रममा करिब १३ हजार फिटको उचाइबाट खसेर ४ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । त्यसको केही समयपछि अन्य २ जना पनि खसे र उनीहरुको पनि मृत्यु भयो ।
पछिल्लो समय रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले स्थानीय अधिकारीको हवाला दिँदै अरू २ जना पनि मरेको र मर्नेको संख्या ८ पुगेको बताएको रोयटर्सले जनाएको छ ।
यी ८ जनाको मृत्युको कारण खराब मौसम रहेको अनुमान गरिएको छ । कामचटका क्षेत्रका अधिकारीहरूले आरोहीहरू ज्वालामुखीको शिखरबाट १६०० फिट मात्र तल रहेको बताए। त्यही बेला दुर्घटना भएको हो ।
तर, यस समूहका ४ जना अझै जीवित छन् । मारिएका ८ जना १२ सदस्यीय टोलीका सदस्य थिए । २ गाईडसहित १२ जनाको समूहले ३० अगस्टमा आरोहण सुरु गरेको थियो । यी सबै रुसी नागरिक हुन् ।
सेप्टेम्बर ४ मा यीमध्ये ६ जनाको मृत्यु भएको थियो । पछि अरू २ जनाको मृत्यु भयो । रिपोर्टका अनुसार समूहका एक गाइडको खुट्टा पनि भाँचिएको छ । तर बाँकी व्यक्तिको हालको अवस्थाबारे कुनै जानकारी आएको छैन।
क्ल्युचेभ्स्काया सोप्का ज्वालामुखी ६ हजार वर्ष पहिले बनेको थियो। पहिलो विष्फोट सन् १६९७ मा रेकर्ड गरिएको थियो। यसलाई रुसमा सबैभन्दा खतरनाक ज्वालामुखी भनिन्छ।







डिसी नेपाल







Facebook Comment