अमरेश सिंहकाे क्षेत्रबाट गगन थापाकाे नाम सिफारिस, सिंह सम्पर्क बाहिर

डिसी नेपाल
२० भदौ २०७९ १३:१६

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ। सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो।

सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले न्युज कारखानालाई जानकारी दिए।

आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो। सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ। युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका छन् । जनताको माग भएकैले उहाँको एकल नाम सिफारिस भएको हो,’ सिंहले भने।

सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै अमरेशकुमार सिंह छन्। तर, उनको नाम सिफारिसमा परेन। केही समयदेखि उनी कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत छैनन्।

यस्तै, सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ। सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार–पाँचजनाको नाम सिफारिस गरेको छ।

कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । सोही निर्वाचन क्षेत्रबाट उनी दुई दुईपटक सांसद भइसकेका छन्। यसअघि कास्की १ क्षेत्रीय समितिले पनि नेता थापाको नाम संघीय सांसदका लागि प्रत्यक्षतर्फ सिफारिस गरेर पठाएको थियो । तर थापाले सो सदासयताका लागि धन्यवाद भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *