पक्राउ सुरक्षागार्ड ५ दिनका लागि थुनामा, मन्त्री भन्छन् ‘सत्य बुझेर मात्र प्रतिक्रिया दिनू’

वसन्त सापकाेटा
२० भदौ २०७९ १४:१४

काठमाडौं। मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ गरिएका सुरक्षा गार्ड शेरजंग गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

ठमेलस्थित छाया सेन्टरमा रहेको क्यानेडियन भिसा सेन्टरका सुरक्षा इन्चार्ज गुरुङमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

सुरक्षागार्ड गुरुङलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो। गुरुङलाई हाल प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।

मन्त्री जीवनराम श्रेष्ठसँग लाइनमा बस्ने विषयमा विवाद आएपछि मन्त्रीले उनलाई पक्राउ गराएका हुन्। मन्त्रीका सुरक्षाकर्मीको नामबाट परेको जाहेरी गृह मन्त्रालय हुँदै प्रहरी वृत्त दरबारमार्ग पुगेको थियो।

मन्त्रीका पीएसओ र मन्त्रीलाई धकेलाधकेल गरेको आरोपमा पक्राउ परेका गार्र्ड गुरुङलाई थप अनुसन्धानको लागि थुनामा राखिएको छ। मन्त्री शुक्रबार आफ्नी श्रीमती र कर्मचारीहरुसहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टर पुगेका थिए।

गुरुङले मन्त्री आउने खबर नभएको भन्दै मन्त्रीलाई पनि सर्वसाधरण जस्तै लाइनमा बस्नुपर्ने बताएका थिए। मन्त्रीका सुरक्षाकर्मीले श्रेष्ठ मन्त्री भएकोले जान दिन भनेका भए पनि गुरुङले सबैका लागि नियम लागू हुने भन्दै उनलाई जान दिन अस्वीकार गरेका थिए। यस क्रममा विवाद भएपछि मन्त्री श्रेष्ठ आफैले प्रहरी बोलाएर जिम्मा लगाएका थिए।

यो घटनापछि मन्त्री श्रेष्ठले नियम र कानुनको पालना गर्नुको सट्टा शक्ति र सत्ताको दम्भ देखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा समेत मन्त्री श्रेष्ठको कार्यको विरोध गर्दै धेरै प्रतिक्रियाहरु आइरहेका छन्।

आलोचना भएपछि मन्त्री श्रेष्ठले पनि सामाजिक संजालबाटै स्पष्टीकरण दिएका छन्। उनले फेसबुकमा लेखेका छन् ‘छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानार्कषण भएको छ। पब्लिकको प्रतिक्रिया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभइ म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो। घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन र सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *