सबैभन्दा ठूलो कार चोर पक्राउ, अहिलेसम्म ५ हजारभन्दा बढी कार गायब पारिसके

डिसी नेपाल
२० भदौ २०७९ १४:५६
380
Shares

काठमाडौं । दिल्ली प्रहरीले ठूलो सफलता हात पारेको छ । दिल्ली प्रहरीले देशकै सबैभन्दा ठूलो कार चोर अनिल चौहानलाई पक्राउ गरेको छ। अनिलमाथि २७ वर्षमा ५ हजार कार चोरेको आरोप छ। कार चोरी बाहेक अनिलविरुद्ध हत्या, हतियार ऐन र तस्करीका मुद्दा दर्ता छन् ।

मध्य दिल्ली प्रहरीको विशेष टोलीले असमबाट अनिल चौहानलाई पक्राउ गरेको हो । अनिल विगत २७ वर्षदेखि अपराध संसारमा सक्रिय रहेको बताइएको छ । उनले सन् १९९० को दशकमा सबैभन्दा धेरै कार (मारुती ८००) चोरेका थिए । अनिलले जम्मु कश्मीर, नेपाल र उत्तरपूर्वी राज्यमा चोरीका धेरै कार बेच्ने गर्दथे।

अनिल चौहान सन् १९९० मा दिल्लीको खानपुर क्षेत्रमा बस्ने र अटो रिक्सा चलाउने गर्दथे । त्यसपछि उनी अपराधको दुनियाँमा आए । उनले कार चोर्न थाले । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

उनले कार चोरी व्यवसायबाट धेरै सम्पत्ति कमाए, उनको सम्पत्ति दिल्ली, मुम्बई र उत्तर पूर्वी राज्यहरूमा रहेको बताइएको छ। ईडीले उनीविरुद्ध मनी लान्ड्रिङ मुद्दा पनि दर्ता गरेको थियो। पछिल्लो समय उनले हतियार तस्करी गर्दै आएका थिए ।

असम प्रहरीले अनिल चौहानलाई ७ वर्षअघि पक्राउ गरेको थियो । त्यसपछि उनीमाथि असम, दिल्ली, महाराष्ट्रलगायत देशका विभिन्न भागबाट साढे चार हजारभन्दा बढी कार चोरी गरेको आरोप लागेको थियो।

अनिलले प्रहरीको सोधपुछमा ४५५२ कार चोरी गरी बेचेको आरोप स्वीकार गरेका थिए । अनिल चौहानको नेटवर्क दिल्लीदेखि असम र महाराष्ट्रसम्म फैलिएको छ। त्यसबेलासम्म अनिलविरुद्ध दिल्लीदेखि असमसम्मका विभिन्न राज्यमा साढे तीन हजार मुद्दा दर्ता भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *