रूसले भन्यो – बेलायतको नयाँ प्रधानमन्त्रीबाट पनि सकारात्मक पहलको आशा छैन

डिसी नेपाल
२० भदौ २०७९ १६:५३
1.3k
Shares

काठमाडौं । रुसले बेलायतको भावी प्रधानमन्त्रीलाई लिएर ठूलो बयान दिएको छ । क्रेमलिनले सोमबार भनेको छ कि उसले अर्को बेलायती प्रधानमन्त्रीबाट पनि कुनै सकारात्मक कुराको आशा गरेको छैन, किनकि प्रधानमन्त्रीको चुनावको क्रममा जुलुसमा रुस विरोधी नारा लगाइएको थियो।

उसले बेलायतको आगामी प्रधानमन्त्री जोसुकै भए पनि रुससँगको सम्बन्धमा सकारात्मक सुधार आउने सम्भावना नरहेको बताएको छ । “मलाई लाग्दैन कि हामीले सकारात्मक कुराको आशा गर्न सक्छौं,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीहरूलाई भने।

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउन लागेका बेला रुसको यो भनाइ सार्वजनिक भएको हो । बेलायती विदेशमन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनकबीचको प्रतिस्पर्धा अन्त्य हुन लागेको र आगामी प्रधानमन्त्रीको घोषणा आज हुने भएको छ ।

रुस–युक्रेन युद्धलाई लिएर बेलायतले रुसप्रति कडा अडान लिएको छ । बेलायतले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ जसका कारण रुस र बेलायतबीचको सम्बन्ध राम्रो छैन । तर, युद्ध सुरु भएपछि बेलायत मात्र होइन पश्चिमका धेरै देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

जानकारीका अनुसार बेलायतमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि रुससँगको स्थितिमा केही सुधार आउने अनुमान गरिएको थियो तर यसबारे रुसले अड्कलबाजी गरेर कुनै फाइदा नभएको स्पष्ट पारेको छ । रुसले भनेको छ – बेलायतका नयाँ प्रधानमन्त्रीबाट पनि हामी सकारात्मक आशा गर्दैनौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *