शैक्षिक सुधारका लागि ६४ बुँदे अवधारणा पत्र सार्वजनिक

युवराज विष्ट
२४ भदौ २०७९ १३:०३

भोजपुर। भोजपुरको शैक्षिक सुधारको लागि ६४ बुँदे शिक्षा सम्वन्धि अवधारणा पत्र सार्वजनिक गरिएको छ। सामुदायिक विद्यालयको खस्किदो शैक्षिक गुणस्तरलाई सुधारको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले अवधारणा पत्र सार्वजनिक गरेको हो।

अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नु पर्ने कामलाई समेटिएको छ । संगठनले तयार गरेको यो अवधारणा पत्र कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई बुझाउने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए ।

शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषि देखाएर राज्य पञ्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउने उद्धेश्यले अवधारणा पत्र सार्वजनिक गरेको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रमा रहेका समस्यालाई उजागर गर्न अवधारणा पत्र सार्वजनिक गरेका छौँ’अध्यक्ष रेग्मीले भने‘ शिक्षक संगठनहरुको तर्फबाट सार्वजनिक गरिएको देशमा नै यो अवधारणा पत्र पहिलो हो । यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नु पर्ने भूमिकाका विषयमा उठान गरेका छौँ । यसको कार्यान्वयनको लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाईसमेत बुझाउने योजना छ ।’

राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रम मार्फत अवधारणा पत्र सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि तयार गरिएको अवधारणा पत्र राम्रो रहेकोले यसको कार्यन्वयनमा जोड दिनुपर्ने बताए । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समधान हुने उनीहरुको भनाइ छ ।

नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दासमेत कम प्राथमिकतामा राख्ने गरेको धारणा राखे। राज्यले शिक्षामा लगानी बढाउनु पर्ने उनको भनाइ छ ।

‘राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ’ अध्यक्ष राईले भने,‘जहाँ गुरु वर्गको सम्मान हुदैन, त्यस्तो अवस्थामा कसरी सभ्य समाज निर्माण हुन्छ । राज्यले यो क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ ।’

एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले आगामी निर्वाचनमा शिक्षा क्षेत्रका समस्यालाई समाधान गर्न दलहरुले घोषणा पत्रमा समेटेर लैजानु पर्ने बताए । शिक्षा क्षेत्रका समस्या समाधान लागि आफ्नो पार्टीले पनि शिक्षकहरुसँग छलफल तथा परामर्श गर्ने योजना रहेकोसमेत सुनाए । शिक्षाको सुधारका लागि सबै राजनितिक दलले शिक्षालाई पहिलो एजेण्डा बनाउनु पर्ने धारणा राखे ।

‘अवधारणा पत्रमा उल्लेख भएका विषयवस्तुहरु उत्कृष्ट छन्’ उपाध्यक्ष खड्काले भने ‘यसको कार्यान्वयन तथा नीति निर्माणमा राजनितिक पार्टीले भूमिका खेल्नुपर्छ। शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा तपाई हामी एकजुट भएर अघि बढ्न आवश्यक छ ।’

कार्यक्रमको अवसरमा बढुवा भएका चार शिक्षकलाई सम्मानसमेत गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थ कुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । संगठनको तर्फबाट स्वास्थ्य उपचारका लागि संगठनका पूर्व अध्यक्ष प्रकाशचन्द्र खतिवडालाई रु.२५ हजार आर्थिक गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *