अमेरिकाले पाकिस्तानको पक्षमा गर्यो ठूलो घोषणा, भारतलाई झट्का
काठमाडौं । बाइडेन प्रशासनले पाकिस्तानको एफ-१६ लडाकु विमानहरूको मर्मतका लागि ४५० मिलियन डलर सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो आर्थिक सहयोगले पाकिस्तानले रक्षा क्षेत्रमा आफ्नो वर्तमान आवश्यकता पूरा गर्ने क्षमता कायम राख्ने बताएको छ । अमेरिकी रक्षा सुरक्षा निगम एजेन्सीले बुधबार यसबारे जानकारी दिएको हो।
अमेरिकाबाट लडाकु विमान एफ–१६ को उपकरण र मर्मतसम्भारका लागि पाकिस्तानलाई यति ठूलो रकम सहयोग दिनु भारतका लागि झट्का हुनु स्वाभाविक हो । तर, यसबाट क्षेत्रको सैन्य सन्तुलनमा कुनै असर नपर्ने अमेरिकी तर्फबाट भनिएको छ ।
सन् २०१८ यता अमेरिकाले पाकिस्तानलाई दिएको यो पहिलो ठूलो सुरक्षा सहायता हो। २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले आतंकवादविरुद्ध अमेरिकाको लडाइमा पाकिस्तानले कुनै सहयोग नगरेको बताएका थिए ।
कांग्रेसले जारी गरेको अधिसूचना अनुसार पाकिस्तानलाई दिइएको यो सुरक्षा सहयोगमा कुनै नयाँ हतियार र युद्ध सामग्री समावेश गरिएको छैन । पेन्टागनले यो सुरक्षा सहयोगमार्फत पाकिस्तानले आतंकवादविरुद्धको लडाइमा अमेरिकालाई सहयोग गर्ने, जसले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने बताएको छ ।
संयुक्त राज्य सरकारले ४५० मिलियन अमेरिकी डलरको एफ-१६ जेटको मर्मतसम्भार कार्यक्रमलाई पाकिस्तानले अनुमोदन गरेको बारे कांग्रेसलाई जानकारी गराएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले आतंकवादविरुद्ध अमेरिकाको लडाइँमा पाकिस्तान एक महत्वपूर्ण सहयोगी भएको र आफ्नो लामो समयदेखिको नीतिको एक हिस्साको रूपमा अमेरिकी मूलका उपकरणहरूको मर्मतका लागि प्याकेजहरू उपलब्ध गराउँदै आएको बताए।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानको एफ–१६ कार्यक्रम अमेरिका र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धका लागि निकै महत्वपूर्ण रहेको बताए । अमेरिकाको यो सहयोगले पाकिस्तानको वर्तमान र भावी आतंकवाद विरोधी खतरासँग लड्ने क्षमता कायम राख्नेछ। “हामी आशा गर्छौं कि पाकिस्तानले सबै आतंकवादी समूहहरू विरुद्ध निरन्तर कारबाही गर्नेछ,” उनले भने।







डिसी नेपाल







Facebook Comment