सप्तरीमा बालविवाहकाे अवस्था भयावह

सुधा देव
२९ भदौ २०७९ ७:२४

सप्तरी। सप्तरीको विष्णुपुर गाउँपालिका-६ की १६ वर्षीया अनार कुमारी सदाको २०७९ साल बैशाखमा विवाह भयो। गाउँका केटाकेटीले प्रेम गरेर भागी विवाह गरेपछि आमाबाबुको दबाबमा १६ वर्षकै उमेरमा उनी विवाह गर्न बाध्य भइन्। अहिले उनले घरको अभिभावकको जिम्मेवारी बोक्नुपरेको छ।

अनार कुमारीले भनिन्, “विवाह हुनुभन्दा अगाडि घरको खासै जिम्मेवारी थिएन । आफूलाई केटाकेटी छु जस्तै लाग्थ्यो। अहिले त घरको अभिभावकको जिम्मेवारी सम्हालेपछि चारैतिरबाट तनाव बोक्नुपर्ने बाध्यता भएको छ।”

साथीहरूसँग बसेर गफ गर्दा, हाँस्दासमेत छिमेकीहरूले नराम्रो नजरले हेर्न थालेपछि आमाबाबुले १६ वर्षकै उमेरमा विवाह गरिदिएको दुखेसो अनार कुमारीको छ। उनले भनिन्, “विवाह गर्ने त मन थिएन । परिवारको दबाबमा गरेकी हुँ।” वडामा उनको उमेरका अधिकांश बालिकाको विवाह भइसकेको छ र उनीहरू सबै श्रीमान्को घर गइसकेका छन्।

अनार कुमारीकी बहिनी विभा कुमारी सदा १४ वर्षकी भइन्। दिदीबहिनीको सँगै विवाह गरिदिने बाबुआमाको सल्लाह थियो। केटा पक्ष आएर केटीलाई हेरिसकेका थिए। बुबाले आफन्तसँग मिलेर केटालाई हेर्न केटाको घर जाने र केटा मन परेपछि विवाहको टुङ्गो लगाउने तय भएको थियो।

बुबाले आफ्ना लागि केटा हेर्न जाँदैछन् भन्ने कुरा विभालाई थाहा भयो। त्यसपछि उनी रुन थालिन् ।त्यतिबेला उनले घरमा ‘म विवाह गर्दिनँ, म पढ्छु’भनेर भनेकी थिइन्।
कक्षा ६ मा अध्ययनरत विभाले कुनै हालतमा विवाह नगर्ने र बालविवाह गरिदिएर आफ्नो भविष्यलाई अन्धकारमा नधकेल्न बाबुआमासँग रोइकराइ गर्दै ढिपीगरेपछि उनको विवाह तत्कालका लागि रोकियो। अझै पनि विभाको बालविवाह हुने सम्भावना भने टरेको छैन।

सोही ठाउँकी १४ वर्षीया कैली कुमारी सदा पनि कक्षा ७ मा अध्ययनरत छिन्। २०७९ बैशाखमा उनकी १७ वर्षीया दिदी काजलको विवाह भयो । त्यसपछि उनको पनि विवाह गर्ने चर्चा घरमा चल्न थालेको छ।

कैली कुमारीले भनिन्, “अब मलाई डर लाग्न थालेको छ । मेरो विवाह आमाबाबुले जहिले पनि गर्न सक्नुहुन्छ ।” आफ्नो पढ्ने सपना अधुरै रहने भयो भन्ने उनलाई पिरलो छ ।
सोही ठाउँकी रन्जु कुमारी सदाले २०७९ बैशाखमा १८ वर्षमा टेकिन् । उनको २०७८ साल फागुनमा विवाह भएको थियो । उनी अहिले ६ महिनाकी गर्भवती छिन् । उनलाई अहिले घरपरिवारको भूमिका र गर्भावस्थाको ख्याल गर्नुपर्ने भूमिका निर्वाह गर्न हम्मेहम्मे परेको छ ।

रन्जु कुमारीले माइतीभन्दा घरमा धेरै कामको बोझ बोक्न बाध्य भएकी छन्। उनले भनिन्, “विवाह गर्न त मन थिएन तर आमाबाबुको दबाबको अगाडि मेरो केही लागेन ।” अहिले उनलाई आफ्नोे र हुनेवाला बच्चाको चिन्ताले सताएको छ ।

कानुनअनुसारविवाह गर्ने न्यूनतम उमेर २० वर्ष हो । २० वर्ष नपुगी विवाह गर्ने र गराउने घटना यो वडाका लागि नौलो होइन । वडाका सबै बालबालिकाको१३ देखि १८ वर्षभित्र बालविवाह हुँदै आएको स्थानीयको भनाइ रहेको छ ।

नेपालको २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कले सप्तरीमा २ लाख ३० हजार ४७९ जनाको बालविवाह भएको तथ्याङ्क छ । यसमध्ये बालक ७९ हजार २२८ जना छन् भने बालिका १ लाख ५१ हजार २५१ रहेका छन् । तथ्याङ्कले देखाए अनुसार बालविवाह भएकामा बालकभन्दा बालिकाको सङ्ख्या दोब्बरछ । १० वर्ष नपुग्दै विवाह भएका बालकहरू एक हजार ४२० र बालिकाहरू चार हजार ६३० रहेको पनि जनगणनाले देखाएको छ ।

यस सम्बन्धमा लामो समयदेखि जिल्लामा बालविवाह र बालिका शिक्षाको बिषयमा काम गर्दै आएको संस्था परिकल्पना नेपालकी उपाध्यक्ष सुनिता कुमारी परियारले भनिन्, ‘‘जबसम्म हाम्रो समाजमा उमेर पुगेपछि स्वेच्छाले विवाहगर्ने वातावरणको सिर्जना हुँदैन, तबसम्म विवाहलाई बाध्यताको रूपमा लिइरहिन्छ ।’’ यस्तो भएपछिबालविवाह घटाउन कठिनाइहुने पनि उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७७/७८ मा एक र २०७८/७९ मा एक गरी दुई आर्थिक वर्षमा जम्मा दुई वटा बालविवाहविरुद्धको मुद्दा दर्ता भएको छ । त्यसो त मुद्दा दर्ता नगरी नाम गोप्य राखेर फोन गरेर जानकारी दिएको आधारमा पनि प्रहरीले बालविवाह रोक्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत खड्काका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा मात्र ३३ वटा बालविवाह रोकिएको थियो ।

प्रहरी निरीक्षक खड्काले भने, ‘‘जानकारी आउनेबित्तिकै बालविवाहको विषयलाई गम्भीरतापूर्वक हेर्ने गरेका छौँ ।’’ उनका अनुसार, बालविवाह गर्दा आइपर्ने समस्याको विषयमा जानकारी पाएर पनि आफन्त र छिमेकीको मिलेमतोमा विवाह हुँदै आएको देखिन्छ ।

जिल्लामा बढ्दो अवस्थामा रहेको बालविवाह रोक्नका लागि आ-आफ्नो ठाउँबाट जिम्मेवार निकायले सहयोग गरे यसलाई अझै घटाउन सहयोग मिल्ने धारणा खड्काको रहेको छ । उनले भने, ‘बालविवाहको घटनाको उजुरी पनि एकदमै कम आउने गरेकोले न्यूनीकरणका लागि पहल गर्न एकदमै समस्या हुँदै आएको छ ।’

बालविवाहका सम्बन्धमा उक्त वडामा बसोबास गर्दै आएकी ७० वर्षीया रूको देवी सदाले भनिन्, ‘‘मपनि ८ वर्षको उमेरमा यहाँ विवाह भएर आएको हो । म आएदेखि अहिलेसम्म कसैको उमेर पुगेर विवाह भएको देखेकी छुइनँ ।’’ उनको अनुभवमा सो वडामा केटा होस् वा केटी सबैको १७/१८ वर्षमुनि नै विवाह हुँदै आएको छ ।

वडाका पूर्व अध्यक्ष बहादुर सदाले आफ्नो वडामा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाह हुँदै आएको बताए । उनका अनुसार, यहाँका बासिन्दालाई गरिबीको कारण दुई छाक हातमुख जोर्न समस्या हुन्छ । ‘‘बालबालिकाहरूले पनि मजदुरी गरे खान पुग्ने, नगरे भोकभोकै बस्नुपर्ने बाध्यता छ,’’ उनले भने, ‘‘त्यसैले आमाबाबुले उमेरको वास्तै नगरी आ-आफ्ना छोराछोरीको चाँडै विवाह गर्ने परम्परा यथावत रहेको हो ।’’

बालबालिकाको क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आएका प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ताले गरिबी, चेतनाको अभाव र शिक्षाको कमीका कारण बालविवाह हुँदै आएको बताए । उनका अनुसार, शिक्षितबस्तीमा बालविवाह कम हुँदै गएको छ । पढेर आत्मनिर्भर भएर मात्रै विवाह गर्नुपर्छ भन्ने चेतना भइसकेको छ । गरिब, विपन्न तथा दलित बस्तीमा बालविवाहको समस्या बढी भएकाले यसलाई रोक्नुपर्नेविषयमा सबै गम्भीर भएर लाग्नुपर्ने तर्क प्राध्यापक गुप्ताको रहेको छ ।

बालविवाह रोक्नुपर्ने सन्दर्भमा गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले बालबालिकाको शिक्षालाई पहिलो प्राथमिकतामा राखेर सोही अनुसार गतिविधि अगाडि बढाएको बताए । उनले भने, ‘‘भर्ना गर्न सक्ने बालबालिकालाई विद्यालयमा भर्ना गराएर गुणस्तरीय शिक्षा दिन शिक्षकहरूलाई निर्देशन दिएको छु ।’’

बालबालिकाहरू नियमित विद्यालय गएर पढ्न थाले भने बालविवाह घट्दै जाने विचार अध्यक्ष यादवको रहेको छ । अध्यक्ष यादवले थपे, ‘‘सबैले आफ्नो छोराछोरीको बालविवाह गर्ने हुनाले कसैले पनि यस सम्बन्धमा उजुरी नै नदिएर चुप लागेर बस्नु दुःखद अवस्था हो । यसैले यसतर्फ मेरो ध्यानाकर्षण भएको छ ।’’

पाँच दशकदेखि वकालत गर्दै आएका अधिवक्ता राजेन्द्रप्रसाद देव भन्छन्, ‘‘बिस वर्ष नपुगी कसैले बिवाह गर्न वा गराउन हुँदैन । नेपालको कानुनमा बालविवाहको कसुर गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार जरिवाना हुन्छ ।’’ उनका अनुसार, उमेरै नपुगी गरे वा गराएको विवाहस्वतःबदर हुन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *