हिजाब नलगाएको आरोपमा पक्राउ परेकी युवतीको प्रहरी हिरासतमा मृत्यु

डिसी नेपाल
१ असोज २०७९ १५:१९
568
Shares

काठमाडौं । इरानमा २२ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएको छ। हिजाब नलगाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । युवतीको नाम महसा अमिनी हो । यो घटनालाई लिएर सामाजिक सञ्जालदेखि सडकसम्म मानिसहरु आक्रोशित छन् ।

समाचार एजेन्सीको रिपोर्टका अनुसार अमिनीका परिवार र सामाजिक कार्यकर्ताले उनको मृत्युलाई ‘शङ्कास्पद’ भनेका छन्। साथै उनीहरूले दोषीमाथि कारबाही र न्यायको माग समेत गरेका छन् । मृतककी आमाले छोरीको हत्या भएको बताएकी छिन् । तर, प्रहरीले कुटपिटको आरोप अस्वीकार गरेको छ ।

महसा अमिनी आफ्नो परिवारसँग इरानको राजधानी तेहरान जाँदै गर्दा पक्राउ परेकी थिइन् । हिजाब नलगाएको भन्दै प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनको ३ दिन पछि १६ सेप्टेम्बरमा मृत्यु भयो।

रिपोर्टका अनुसार अमिनी पक्राउ परेको केही घण्टापछि नै कोमामा गएकी थिइन् । जसका कारण उनलाई अस्पताल लगिएको थियो । तर परिवारले अमिनीलाई कुनै प्रकारको रोग नभएको बताएको छ । यस्तो अवस्थामा अमिनीको मृत्यु ‘शङ्कास्पद’ भएको बताइएको छ ।

महसा अमिनी प्रहरी चौकी पुगेर अस्पताल पुगेपछि के भयो भन्ने खुल्न सकेको छैन । तर, मानवअधिकार उल्लंघनको अनुगमन गर्ने इरानी टिभी च्यानलले अमिनीको टाउकोमा चोट लागेको बताएको छ ।

अर्कोतर्फ, सामाजिक सञ्जालमा अमिनीको तस्बिर भाइरल भइरहेको छ, जसमा उनी अस्पतालको बेडमा देखिएकी छिन् । उनको मृत्युको खबर पाएलगत्तै अस्पताल बाहिर ठूलो भीड जम्मा भएको थियो । त्यसपछि प्रहरीले जनतालाई तितरबितर पार्ने प्रयास गरेको थियो । कतिपयले आक्रोशमा सरकार विरोधी नारा लगाएका पनि देखिएका छन् ।

इरानी पत्रकार (@AlinejadMasih) ले पनि ट्विटरमा एक भिडियो साझा गरेका छन् जसमा प्रहरीले महसा अमिनी र अन्य केटीहरूलाई जबरजस्ती नियन्त्रणमा लिएर कारमा बसाएको दाबी गरेको छ।

घटनामा प्रहरीमाथि यातना दिएको आरोप छ । प्रहरी हिरासतमा अमिनीको मृत्यु भएको भन्दै परिवारले छानबिन गर्न माग गरेको छ । तर प्रहरीले भने आरोप अस्वीकार गरेको छ । अमिनीमाथि कुनै कुटपिट नभएको प्रहरीले जनाएको छ । त्यो दिन धेरै केटीहरू पनि पक्राउ परे। तीमध्ये अमिनी पनि एक थिइन् । प्रहरी चौकीमा ल्याउँदा उनी बेहोस भइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *