खोटाङमा बढ्दै डेंगु संक्रमित

डिसी नेपाल
२ असोज २०७९ ६:२०

खोटाङ। खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन्। गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन-चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन्। शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ।

कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन्। ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ। जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ जनालाई, साकेला गाउँपालिकाका ३ जना, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका एक/एक जनालाई डेंगु पुष्टि भएको छ।

परिक्षणका क्रममा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २५ वर्षकी महिलालाई पनि डेंगु देखिएको छ। डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा नितु लामाले बताइन्।

सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रवन्ध मिलाइएको छ। शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *