म्यानमारलाई बंगलादेशको चेतावनी ‘गोलाबारीको विरोधमा आवश्यक परे संयुक्त राष्ट्र संघमा जान्छौं’

डिसी नेपाल
२ असोज २०७९ ११:०६

काठमाडौं । बंगलादेशका गृहमन्त्री असदजाजमान खानले आफ्नो देश युद्ध नभई रोहिंग्या समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् ।

शनिबार ढाकामा पत्रकारहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण रुपमा समस्याको समाधान नभए आवश्यकता परे संयुक्त राष्ट्रसंघमा मुद्दा उठाउने बताए ।

“हामी युद्ध चाहँदैनौं। हामी शान्तिपूर्ण समाधान चाहन्छौं। हामी यसको लागि हाम्रो प्रयास जारी राख्नेछौं। यदि हाम्रो प्रयास असफल भएमा हामी यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान्छौं,” उनले भने।

यसअघि शुक्रबार राति बंगलादेशको बन्दरवन जिल्लाको नायकस्योङचारीको घुमधुम युनियनको टुम्बरु सीमामा म्यानमारतर्फबाट मोर्टार प्रहार भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त गोलाबारीमा एक १५ वर्षीय किशोरको मृत्यु भएको थियो भने कम्तीमा ६ जना घाइते भएका थिए ।

सोही क्रममा घुमधुम सीमामा रहेको जिरो लाइनमा रहेको रोहिंग्या शिविरमा विष्फोट भएको थियो । २८ अगस्टमा पनि म्यानमारबाट दुई मोर्टार गोला यस क्षेत्रमा खसेका थिए।

बंगलादेशका गृहमन्त्रीले यस विषयमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको र म्यानमारले संयमता अपनाउने अपेक्षा गरिएको बताए ।

मंगलबार म्यानमारका दुई लडाकु जहाज र दुईवटा लडाकु हेलिकप्टर बंगलादेशको सीमामा प्रवेश गरेका थिए ।

बंगलादेशले ढाकामा म्यानमारका राजदूतलाई बोलाएर म्यानमारको यस्तो कार्यको विरोध गरेको छ ।

म्यानमारबाट विस्थापित दक्षिणी बंगलादेशमा करिब १० लाख रोहिंग्या मुसलमान बसिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *