बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …

नारायण ढुङ्गाना/रासस
२ असोज २०७९ ११:२३

पोखरा। सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो। यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो।

पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी क्यान्भास सजाउन दुई दिनदेखि प्रतिक्षारत स्वदेशी र विदेशी कलाकार सफल हुन सकिरहेका छैनन् । मौसम बदलाव कारक बनिरहेको छ तर प्रतीक्षा बाँकी नै छ।

जलरङमा कुची चोपेर माछापुच्छ्रेको काखलाई क्यान्भासमा उतार्दा आउने मजा कलाकारको कल्पनामै सीमित छ। नेपाली कलाकारले विगतका अनुभव पोखिरहेका छन्, विदेशी कलाकार अझै ती दृश्य सिर्जनामा लालायित छन् र प्रार्थना गरिरहेका छन्।

छिनछिनमै परिवर्तन भइरहेको बादल अनि त्यसभित्र घुसेको पोखरा, स्थानीय रहनसहनले उनीहरुका मन भने लोभ्याइरहेको छ। अझ यहाँको पर्यटकीय क्षेत्र घाचोकबाट देखिने दृश्य क्यान्भास सजाउने कल्पनामा डुबिसकेका छन् कलाकार।

त्यसको पूर्वसन्ध्यामा शनिबार १२ मास्टर कलाकारले बगरको भानु हलमा चित्रहरूको ‘रिहर्सल’ गरे। उहाँहरूको सिर्जना पोखराका ती सुन्दरताभन्दा टाढा थियो ।

कलाकारले आ-आफ्नो मुलुकका रहनसहन र सामाजिक परिवेश सिर्जना गरेर कलामार्फत एकताको सन्देश छरे। त्यसले उपस्थित कलाकार र दर्शकलाई लोभ्याइदियो। गडगडाहट तालीले कलाकारले सम्मान पाए भने नवकलाकार र दर्शक सेल्फी लिन तम्सिए।

इरानी मास्टर आर्टिष्ट नादेर मोहजब्नीयले स्वर्गको परीको हाउभाउ कस्तो रहनसक्ला भन्ने कल्पनामा यथार्थ भरे। समाजमा देखिरहेकै युवतीका चालचलनलाई कल्पना मिसाउँदा आउने सुन्दर युवतीको परिपक्व यौवन आर्ट पेपरमा खिने। युवतीको मस्त जवानी छचल्किएको दृश्यले दर्शक तथा कलाकारको मन जित्यो।

“कलाको कुनै सीमा हुन्न, यो एउटा स्वर्गकी परीको सिरिजलाई देखाएको हुँ”, उनले थपे, “उक्त सिरिजमा धेरै चित्र सिर्जना गरिसकेको छु।” उनले फरक-फरक आसन र फरक-फरक ‘पोज’मा परीहरुलाई उतारिसकेका छन्। त्यही शृङ्खला जोडेर नेपाली कलाकारसामु पस्किएको सुनाए।

उनीसँगै भारतका कलाकार विजय विश्वाल पनि ‘लाइभ’ सिर्जनामा बसेका थिए। छोटो समयमा आर्ट पेपरमा जलरङ पोते। उनका सिर्जनाले भारतमा चल्ने पुरानो रेलमा नेपाली प्यागोडाशैलीका मन्दिर अनि त्यही कार्यक्रममा नृत्य प्रस्तुत गर्ने नेपाली युवतीलाई जोडेर देश–देशबीचको भाइचारालाई परिपक्व बनाउने प्रयास गरेको छ।

रेलको अग्रभावमाथि नेपाली मन्दिरको गजुर ठड्याएको दृश्यले भानु हलका दर्शकको गडगडाहट तालिम पायो। विगतमा ट्रेन सिरिजमा भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट तारिफ पाएका उनले त्यही सिरिजमा नेपाली कला मिसाएर स्थानीय स्वाद पस्किने प्रयास गरेको सुनाए।

स्केच नगरी कला सिर्जना गर्न पारङ्गत नेपाली मास्टर आर्टिष्ट दिराम पाल्पाली अन्तर्राष्ट्रिय कलाकारसामु अब्बल नै देखिए। सयौँ दर्शकका बीचमा प्रत्यक्ष कला सिर्जनामा सहभागी पाल्पालीले काठमाडौँको व्यस्त सडक र त्यहाँ आ-आफ्नो तालमा हिँडिरहेका बटुवा उतारिरहँदा भारतीय कलाकार विजयको मन उद्देलित भयो। तत्कालै पोडियममा पुगेर भने, “वास्तविक जलरङ भनेको त्यो हो, जुन पाल्पालीको डेमोमा देखिँदैछ।”

बङ्गलादेशी मास्टर कलाकार कौशर होसनले नेपाली समाज सुहाउँदो आफ्नै मुलुकको सुन्दर ग्रामीण बस्ती र त्यहाँको समाज, रहनसहनलाई देखाइदिए। उनीसँगै लाइन सिर्जनामा नेपाल कलाकार भीम श्रेष्ठ सहभागी भए। उनले नेपाली समाजलाई चित्रित गरे।

पानी रङ जटिल विधा हो। यसमा काम गर्दा सुधार गर्ने मौका नै हुन्न। बिग्रियो त सकियो। त्यसैले पनि जलरङमा कुची चलाउन औधी गाह्रो हुन्छ। त्यसमाथि नेपालकै दोस्रो पर्यटनको गल्तव्य पोखराको सुन्दरता सिर्जनामा वर्णन गर्न झनै गाह्रो हुन्छ।

माछापुच्छ्रे हिमालको काखमा रहेको पोखराको अनुपम दृश्यले पर्यटकलाई बारम्बार लोभ्याउँछ। प्राकृतिक तालहरूबाट प्राप्त आनन्द अनि अन्नपूर्ण हिमशृङ्खलाका हिमाली दृश्य एकसाथ नजिकबाट नियाल्न सकिने ठाउँ हो पोखरा।

ग्रामीण बस्ती, स्थानीय रहनसहन र विभिन्न साहसिक खेल यसका थप विशेषता हुन्। घरीघरी बादलुको घुम्टोले ढाकेका पल कम्ता गजब लाग्दा हुन्न।

मानसपटलमा पटकमा ती दृश्य कैद भए पनि कलाकारले शनिबार त्यसलाई क्यानभास सजाउन पाएनन्। तेस्रो चरणका डेमोस्टेटर छ कलाकार एकैपटक लाइभमा बसे। कला सिर्जना गरेर देखाए।

जसमा नेपालका मनोज तामाङ र डिबी राई, भारतका अमलेश मजुम्दार र अनिल शर्मा तथा बङ्गलादेशका एसएम वाहिदुज्मान र अराफात हुसेनले प्रस्तुति दिए।

संस्कृति, राजनीति र सामाजिक विषयलाई सरलरूपमा प्रस्तुत गर्न सकिने विधा हो कला। सहजरूपमा बुझन् सकिने विधाको एउटा महोत्सवकै रूपमा पोखरामा आयोजना गरिएको आर्ट क्याम्प पर्यटक प्रवद्र्धनको माध्याम पनि हो।

नेपाल प्रकृति, संस्कृति, इतिहास र सभ्यताको खानी मुलुक हो। अझै पोखराको दृश्य सबैका लागि मनमोहक हो। त्यसलाई हृदयको गहिराइमा पुगेर सिर्जना गर्न सके त्यसले खास दिन्छ ।

लुकेका विषयवस्तुलाई सरलरूपमा पस्कन सक्ने क्षेत्र भनेकै कला हो। कला जीवनसँग संलग्न हुने भएकाले इरान होस् या बङ्गलादेश, भारत होस् या नेपाल यसले संसारलाई एक बनाउन भूमिका खेल्छ । कलाले विश्वलाई जोड्न मद्दत गर्छ।

आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका अध्यक्ष एनबी गुरुङ यस कार्यक्रमले पोखरा र समग्र नेपालको पर्यटन विकासमा योगदान गर्ने विश्वास गर्छन्। आइतबार घाचोक पुगेर प्रतिस्पर्धात्मक कला सिर्जना गरिँदै छ भने सोमबार यहाँका अन्य प्राकृतिक दृश्य समेट्ने योजना कलाकारको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *