पर्यटकीय तथा पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा

डिसी नेपाल
३ असोज २०७९ १०:३७

झापा। भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ। जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोष विकिपिडियामा उल्लेख छ तर, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईले यसको इतिहासबारे अन्योल रहेको बताइन्।

उहाँका अनुसार सो क्षेत्रमा पानी नभएको दुईवटा पोखरी, थुम्की र इनार भग्नावशेषको रुपमा पाइन्छ। चार सय ३० हेक्टर क्षेत्रमा रहेको सामुदायिक वनभित्र रहेको चन्द्रगढमा विसं २०५५/०५६ तिर पुरातत्व विभागले उत्खननसमेत गरेको उनको भनाइ छ । उनले उत्खननका क्रममा पोखरी आसपास क्षेत्रभित्र माटाको भाडाकुँडा भेटिएको कार्यालयको अभिलेखमा रहेको जानकारी दिइन्।

वन क्षेत्रको ४२ हेक्टर जमिनमा फैलिएको चन्द्रगढलाई पर्यटकीयस्थलमा विकास गर्नका लागि विसं २०६१÷०६२ मा तत्कालीन मोरङ बहुमुखी क्याम्पसका प्रा डा सोमप्रसाद खतिवडा र इटहरीका चित्रकार विक्रम श्रीलगायतको विज्ञको टोलीले अवधारणा पत्रसमेत बनाएको थियो तर, सोअनुरुप बजेट अभावमा भने काम हुन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ।

भद्रपुर नगरपालिकाको पुष्पलाल मार्गको रिङरोडभित्र रहेको चन्द्रगढकै नामबाट झापाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको अधिकांश पुराना मानिस बताउँछन् । सो क्षेत्रमा सुरुमा बस्ती र हालको जीवन ज्योति प्राथमिक विद्यालय रहे तापनि विसं २०३६ मा तत्कालीन सरकारले जग्गा सट्टा भर्ना गराएर सबै स्थान्तरण गरेको उनको भनाइ छ।

उनले सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनले २३ वटा आधार बनाएर काम गरिरहेको बताइन्। वनलाई हराभरा बनाउने, पोखरीको थप उत्खनन गरी पानी भर्ने, पोखरीमा डुङ्गा चलाउने, वनभोजस्थललाई व्यवस्थित बनाउनेलगायतका काम गर्न नगरसँग समेत समन्वय भइरहेको बताइन्।

“पर्यटकीय क्षेत्रको हिसाबले जिल्लाकै सबैभन्दा धनी सामुदायिक वन हो चन्द्रगढी”, उनले भनिन्, “विकास गर्न बाँकी छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारको भौतिक पूर्वाधार निर्माणमा सहयोग रहेमा आन्तरिक र बाह्य पर्यटकबाट मात्र वार्षिक रु पाँच करोड आम्दानी गर्न सकिन्छ।” उनले सो क्षेत्रको विकासलाई व्यवस्थित र आकर्षक बनाउन थप डिपिआर र गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख छुट्याएको बताइन्।

वनको आम्दानीको २५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नियमबमोजिम पर्यटन प्रवद्र्धनका लागि आठ हेक्टर जमिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निर्माणको कार्य अघि बढाइएको छ। जसअन्तर्गत सो क्षेत्रमा एक हजार वटा आँपका बिरुवा रोप्नुका साथै तीन वटा गोलघर निर्माण गरिएको छ।

अहिलेसम्म हात्ती नियन्त्रणका लागि तारको घेरावारा गर्दै छ किलोमिटरको क्षेत्रमा करेन्ट प्रवाह गरिसकिएको, वनभोजस्थलको निर्माण, शौचालय निर्माणलगायतका विभिन्न कार्यमा रु १५ लाख बराबरको खर्च भइसकेको छ। भद्रपुर नगरपालिकाबाट हालसम्म १६ वटा सोलार बिजुलीको पिलर जडान गरिदिए पनि बाँकी सबै खर्च भने वन समूहकै भएको समितिको कार्यालयले जनाएको छ।

करिब दुई हजार दुई सय वर्ष पुरानो अवशेष रहेको यस क्षेत्रमा प्राकृतिकरुपमा १६ वटा थुम्की, दुई वटा पोखरीलगायतको सुन्दर हरियाली जमिन रहेको छ। पूर्वपश्चिम राजमार्गको चारआली बजारबाट करिब तीन किलोमिटर दक्षिण क्षेत्रमा रहेको वन क्षेत्र पुग्न कालोपत्रे सडक निर्माण भइसकेको छ।

हाल सामुदायिक वनको उपभोक्ता मात्र दुई हजार तीन सय छन्। उनीहरुलाई वार्षिकरुपमा एक दिन वनभित्रका झाडी सरसफाइका लागि श्रमदान गर्नुपर्ने वा सो अभियानमा सहभागी नहुने उपभोक्ताले रु पाँच सय जरिवानाबापत तिर्नुपर्ने वनले नियम बनाएको छ। सो नियमको पालना उपभोक्ताले प्रतिबद्ध भएर गरिरहेको उनको भनाइ छ। चन्द्रगढ क्षेत्रको आसपासमा सन्थाल, थारुलगायत बहुजाति, बहुभाषीको बसोबास छ।- रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *