भारी वर्षाको चेतावनीसँगै विपद् प्राधिकरणद्वारा पूर्वतयारी तीव्र: कोशी ब्यारेजका ढोका खोलिने, २१ जिल्ला बाढीको जोखिममा

डिसी नेपाल
३ साउन २०८३ ६:३९

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरूलाई तीव्र पारेको छ।

मौसमको प्रतिकुल अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार र राहतका लागि आवश्यक स्रोत साधन परिचालनको तयारी थालेको हो।

नदीहरूमा पानीको बहाव बढेर बाढीको जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले स्थिति नियन्त्रण बाहिर जान नदिन आज कोशी ब्यारेजका ढोकाहरू क्रमशः खोलिने जानकारी दिनुभएको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीका अनुसार देशभरका प्रमुख नदी तथा जलप्रवाहको निरन्तर निगरानी भइरहेको छ र हाल देशका २१ जिल्ला बाढीको मध्यम जोखिममा रहेकाले ती क्षेत्रमा विशेष ध्यान दिइएको छ।

सम्भावित प्राकृतिक विपद्को सामना गर्न प्राधिकरणले तीनै वटा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति र उपकरणसहितको पूर्वतयारी चुस्त बनाएको छ। प्राधिकरणले स्थानीय तह, सुरक्षा संयन्त्र र अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

यसका साथै, नदी किनार र पहिरोको उच्च जोखिम रहेका भिरालो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन तथा यो मौसमी विपद्को समयमा लामो दूरीको यात्रा र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणले विशेष अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *