टेम्केमैयुङले सरुआत गर्‍याे बन्द रहेको स्थानीय ‘सप्तमी हाट’

युवराज विष्ट
३ असोज २०७९ १३:१३

भोजपुर। यहाँको टेम्केमैयुङ गाउँपालिकाले स्थानीय कृषि उपजहरुको सहज बिक्री वितरणको लागि स्थानीय हाट बजार सञ्चालनमा ल्याएको छ। कृषकहरुलाई उत्पादित वस्तु बेचबिखन गर्न सहज बनाउने उद्देश्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा सप्तमी हाट सञ्चालनमा ल्याएको हो।

करीब ५७ वर्षअघिबाट यहाँ हाट बजार सञ्चालन हुँदै आएको थियो। तर करीब सात वर्ष अघिबाट यहाँ हाट लगाउन बन्द गरिएको थियो। हाट बजार बन्द भएसँगै स्थानीयलाई कृषि उपज बेचबिखनमा असहजता भएपछि गाउँपालिकाकाले सप्तमी बजार पुनः सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले व्यवस्थित रुपमा हाट सञ्चालन गर्न बजार व्यवस्थापन समितिमसेत गठन गरेको छ।

गाउँपालिकाका क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनको सहज बिक्री वितरणको लागि बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

‘लामो समयबाट बन्द भएको सप्तमी हाटलाई पुनः सञ्चालनमा ल्याएका छौँ’ गाउँपालिका अध्यक्ष बस्नेतले भने, ‘गाउँपालिकामा उत्पादन भएका कृषि उपजहरुलाई सहज रुपमा बिक्री वितरण गराउने हाम्रो लक्ष्य हो।’

गाउँपालिकालाई कृषिमा नमूना स्थानीय तह बनाउने उद्देश्यले योजनाबद्ध रुपमा काम गरिरहेकोले यस्ता बजारले कृषकलाई थप सहज हुने उनको भनाइ छ। ठाउँ–ठाउँमा यस्ता हाट बजार सञ्चालन गर्न सके बजारीकरणको लागि केहि सहज हुने राईले जानकारी दिए।

‘हामीले गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य लिएका छौँ’ अध्यक्ष राईले भने,‘उत्पादित बस्तुलाई बजारसम्म लैजाने सहज बनाउने माध्यमको रुपमा स्थानीय हाटलाई लिएका छौँ। आवश्यक पूर्वाधारको विकास गरेर उत्पादित कृषि उपजलाई सहजरुपमा बिक्री वितरण गर्ने वातावरण बनाउन लागि परेका छौँ।’

गाउँपालिका केन्द्रमा लाग्ने बजार भएकाले यहाँ लेक तथा बेँसीमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्री हुने गर्दछ । यसले स्थानीयलाई कृषिमा आत्मानिर्भर बन्न सहजता थप्ने गाउँपालिका उपाध्यक्ष रमा राईले बताइन्।

उपाध्यक्ष राईले भनिन्, ‘विगतका समयमा लाग्दै आएको हाट बन्द थियो। यसले स्थानीयलाई कृषि उपज बेचविखनमा असहज थियो। स्थानीयलाई सहज बेचबिखनको लागि गाउँपालिकाको पहलमा बजार सञ्चालन ल्याएका हौँ।’

एक वडा एक वडा उत्पादन क्षेत्र घोषणा गर्ने नीति तथा कार्यक्रम पारित गरेर काम गरिरहेकोसमेत उनले जानकारी दिइन्। यसले गाउँपालिकालाई तरकारीसँगै खाद्यन्नमा आत्मानिर्भर बनाउने टेवा पुग्ने उपाध्यक्ष राईले बताइन्।

यहाँको बजारमा विभिन्न ठाउँबाट व्यापारीहरु आफ्ना सामान लिएर पुग्ने गरेका छन्। यहाँ प्रत्येक महिनाको सप्तमी तिथिमा नियमित रुपमा बजार लगाउने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बन्द भएको बजार सञ्चालनमा ल्याएपछि स्थानीय उत्साहित भएका छन्। हाट सञ्चालनले कृषि उपजलाई बिक्री वितरणमा थप सहज भएको स्थानीयबासी भनाइ छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर हाटको पुनः औपचारिक सुरुआत गरेको हो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *