७.६ म्याग्नेच्युडको भूकम्पबाट सयौं मानिसहरूलाई भूकम्पले नै बचायो

डिसी नेपाल
४ असोज २०७९ १७:१०

काठमाडौं । मेक्सिकोको पश्चिमी तटमा सेप्टेम्बर १९ सोमबारका दिन फेरि भूकम्प गएको छ । दिउँसो एक बजे गएको यस भूकम्पको तीव्रता ७.६ रेक्टर स्केल रेकर्ड गरिएको छ ।

सन् १९८५ र २०१७ मा गएका दुई वटा ठूला भूकम्पको वार्षिकोत्सव मनाउन मानिसहरू सडकमा निस्किएपछि यो भूकम्प आएको हो । मानिसहरु भूकम्प मक ड्रिल गर्दै घरबाहिर निस्किएकाले भूकम्पमा एक जनाको मात्र मृत्यु भएको थियो । तर, धेरै भवनमा क्षति पुगेको छ ।

यसअघि १९ सेप्टेम्बर १९८५ मा मेक्सिको सिटीमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने सयौं भवनमा क्षति पुगेको थियो । २०१७ मा सोही दिन ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो । यसमा करिब ३७० जनाको ज्यान गएको थियो । यही कारणले गर्दा यहाँका जनता १९ सेप्टेम्बरको दिनलाई श्रापित दिन मान्छन् ।

सेप्टेम्बर १९, १९८५ मा मेक्सिको सिटीमा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको झट्का दुई मिनेट मात्रै थियो तर झण्डै ३ हजार किलोमिटर टाढा लस एन्जलससम्म महसुस गरिएको थियो ।

यस भूकम्पमा १० हजारभन्दा बढीको ज्यान गएको थियो, ३० हजारभन्दा बढी घाइते भएका थिए भने करिब २ लाख ५० हजार मानिस घरबारविहीन भएका थिए । ४०० भन्दा बढी भवनहरू भत्किएका थिए र हजारौं क्षतिग्रस्त भएका थिए। भोलिपल्ट परकम्पको तीव्रता ७.५ मापन गरिएको थियो।

मेक्सिकोमा १९ सेप्टेम्बर २०१७ मा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्र मेक्सिको सिटी देखि लगभग १६० किलोमिटर टाढा थियो। यस भूकम्पमा झण्डै ४० भवन भत्किएका थिए । धेरै कारहरू भग्नावशेषमुनि दबिएका थिए जसमा धेरै मानिस फसेका थिए। यस भूकम्पमा करिब ३७० जनाको मृत्यु भएको थियो ।

अहिलेको भूकम्पपछि यहाँ, पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरिएको छ। यहाँबाट ५०० किलोमिटर टाढा रहेको राजधानी मेक्सिको सिटीमा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । राजधानीमा हताहतीको कुनै जानकारी छैन। भूकम्पविद्हरूका अनुसार भूकम्पको केन्द्रबिन्दु मिचोआकान राज्यको कोलकोमनबाट ५९ किलोमिटर दक्षिणमा, प्रशान्त महासागरको तट नजिकको जमिनबाट १५ किलोमिटर टाढा भएको बताएका छन् ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरका अनुसार ३ मिटर अग्लो छाल मेक्सिकोमा आउन सक्छ । प्रारम्भिक छालहरू मान्जानिलो र अकापुल्को जस्ता तटीय शहरहरूमा आइपुगिसकेका छन्। कोलम्बिया, कोस्टारिका, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ, पनामा र पेरुको प्यासिफिक तटहरूमा ०.३ मिटरभन्दा कमको सुनामी छालहरू आउने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *