महसा अमिनीका बुवाले भने- छोरीलाई हेर्न चाहन्थें, तर भित्र जान दिएनन्

डिसी नेपाल
८ असोज २०७९ १०:२०

काठमाडौं । २२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेको छ । उनका बुबाले अधिकारीहरूले झुट बोलेको आरोप लगाएका छन्।

बीबीसी पर्शियन सर्भिससँगको अन्तर्वार्तामा महसा अमिनीका बुबा अमजद अमिनीले आफ्नी छोरीको पोष्टमार्टम रिपोर्टसमेत नदिएको बताएका छन् । उनले आफ्नी छोरीको अवस्था ठिक नभएको दावीको पनि खण्डन गरे ।

महसालाई प्रहरी हिरासतमा कुटपिट भएको प्रत्यक्षदर्शीले उनका परिवारलाई बताएको उनले बताए । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

महसालाई हिजाब लगाउने नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो। इरानको कुर्दिस्तान प्रान्तको सकिज सहरकी कुर्दी महिला महसा अमिनीको शुक्रबार तेहरानस्थित एक अस्पतालमा मृत्यु भएको हो । उनी तीन दिनदेखि कोमामा थिइन् ।

तेहरानको मोरालिटी पुलिसले महसालाई ‘सार्वजनिक स्थानमा कपाल ढाक्ने र छाडा लुगा लगाउने’ नियम कडाइका साथ लागू गरेको सम्बन्धमा हिरासतमा लिइएको बताएको छ ।

यस बिषयमा देशैभर आन्दोलन भइरहेको छ । आन्दोलनकारीहरुले आज आन्दोलन नगरे भोलि अरु पनि पीडित हुनसक्ने बताउँछन् । फ्रान्सको विदेश मन्त्रालयले यसलाई लाजमर्दो घटना भन्दै छानबिनको माग गरेको छ ।

युरोपेली संघको विदेश सम्बन्ध परिषद्ले पनि यसप्रति कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले महसा अमिनीको मृत्युको जिम्मेवारी तोक्न माग गरेको छ ।

इरानी अधिकारीहरूले महसा अमिनीलाई अमानवीय व्यवहार नगरेको र हिरासतमा लिएपछि अचानक हृदयघातका कारण मृत्यु भएको दाबी गरेका छन्।

तर महसाका बुबा अमजदले महसाका १७ वर्षीय भाइ आराश त्यहाँ रहेको र प्रहरीले महसालाई कुटपिट गरेको बताए । उनी भन्छन्, “मेरो छोरा उनीसँगै थियो। केही प्रत्यक्षदर्शीले मेरो छोरालाई महसालाई भ्यानमा र प्रहरी चौकीमा कुटपिट गरिएको बताए।

“मेरो छोराले महसालाई नलैजान आग्रह गरे, तर कुटपिट पनि भयो। उनको लुगा च्यातेको थियो। मैले सुरक्षा अधिकारीको शरीरको क्यामेराको फुटेज देखाउन भनेँ। तर उनले आफ्नो ब्याट्री सकिएको बताए।”

इरानी अधिकारीहरूका अनुसार महसाले गिरफ्तार गर्दा अभद्र लुगा लगाएकी थिइन् । यद्यपि उनका बुबाले महसाले लामो ओभरकोट लगाएको बताउँछन् ।

अमजद भन्छन् कि मेडिकल स्टाफले उनलाई छोरीको शव नजिक जान दिएनन्। उनले भने, “म मेरी छोरीलाई भेट्न चाहन्थें, तर उनीहरूले मलाई भित्र जान दिएनन्।”

अमजदका अनुसार पोष्टमार्टम रिपोर्ट मागेपछि डाक्टरले भने, “म जे लेख्न चाहन्छु, त्यो लेख्छु। यसमा तपाईसँग कुनै सरोकार छैन।”

अमजदका अनुसार महसाको अटोप्सीसँग सम्बन्धित कुनै जानकारी परिवारलाई दिइएको छैन। अमजदले आफ्नी छोरीको शवलाई गाड्नका लागि पूरै ढाकिएको मात्र देखे।

उनका अनुसार, “महसाको खुट्टामा चोट लागेको थियो। मैले डाक्टरलाई खुट्टा जाँच्न भनें।”

अमजदका अनुसार अधिकारीहरूले उनलाई चोटको कारणबारे अनुसन्धान गर्ने बताएका थिए तर उनीहरूको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। उनले भने, “उनीहरूले बेवास्ता गरे। अहिले झूट बोल्दै छन्।”

यसअघि तेहरान प्रान्तको फोरेन्सिक मेडिसिनका महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै भनेका थिए, “महसाको टाउको, अनुहार वा आँखाको वरिपरि कुनै चोटको निशान भेटिएको छैन। महसाको टाउकोमा कुनै फ्याक्चर छैन।”

अधिकारीहरुका अनुसार आन्तरिक चोटपटकको कुनै निशान भेटिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *