मलेसियाका लागि नवनियुक्त राजदूतको प्रतिबद्धताः नेपाली श्रमिकका समस्या समाधान गर्छु

डिसी नेपाल
८ असोज २०७९ १६:११

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन्।

मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो ।

दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ ।

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए ।

मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् ।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने बताए ।

नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया प्रस्थान गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *