चिनियाँ र पाकिस्तानीमाथि निगरानी गर्न भारतको प्रस्ताव, अवैध हतियार रोक्न नेपालको प्रस्ताव

सशस्त्र प्रहरी र भारतीय एसएसबीका प्रमुखबीच काठमाडौंमा वार्ता

डिसी नेपाल
१३ असोज २०७९ १०:०१

काठमाडौं। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशकले नेपालले तेस्रो मुलुकका नागरिकहरुलाई भारत प्रवेश गर्न र उनीहरुको अवैध गतिविधि रोक लगाउनुपर्ने प्रस्ताव गरेका छन्।

चीन र पाकिस्तानका नागरिकहरुले नेपालको भूमि प्रयोग गरी भारत र नेपालबीचको खुल्ला सिमानाका कारण भारततिर गलत मनसायले प्रवेश गर्ने गरेको दावी उनले गरेका छन्।

पाँच दिने औपचारिक भ्रमणमा आएका एसएसबीका महानिर्देशक डा. सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक वार्ताका क्रममा सो प्रस्ताव राखेका हुन्।

नेपाल भारत सीमा क्षेत्रमा अपराध नियन्त्रणमा कार्य गरिरहेका दुई देशका फौजी संगठनका प्रमुख र उनीहरुको टोलीबीचको औपचारिक वार्ता असोज ११ गते मंगलबार सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको थियो।

‘भारतीय फौजका प्रमुखले चीन र पाकिस्तानको नाम लिएनन् तर तेस्रो मुलुकका नागरिकहरुले नेपालको मार्ग प्रयोग गरी भारतमा सुरक्षा चुनौती थप गरेको कुरा प्रस्तुत गरेको तथ्यांकमा पाकिस्तानी र चिनियाँ नागरिकका गतिविधि समेटिएका थिए’ बैठकमा सहभागी सशस्त्रका एक डिआईजीले डिसी नेपालसँग भने,‘ उनले निकै संवेदनशीलरुपमा यो विषयलाई उठाएका छन्।’

जवाफमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले त्यस्ता अवैध कार्यहरु हुन नदिन सजग भएको र भएको पाइए कडाभन्दा कडा कारवाही गर्ने जानकारी गराएका थिए।

भारतीय पक्षले केही महिनाअघि भिट्टमोड क्षेत्रबाट एकजना पाकिस्तानी नागरिक भारत प्रवेश गरेको र तिनी आशंकित व्यक्ति भएकाले भारतले पक्राउ गरेको प्रसंगलाई रिफरेन्सका रुपमा प्रस्तुत गरेको थियो।

भारतले चीन र पाकिस्तानी नागरिकका गतिविधिको चासो राख्दा नेपालले भने भारततर्फबाट नेपालमा अवैध हतियार र लागू औषधको कारोवार बढेकोले नियन्त्रण गरिनुपर्ने प्रस्ताव राखेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विगत एक बर्षको तथ्यांक नै पेश गर्दै त्यस्तो कार्य रोकिनु पर्ने कुरा राखेका थिए। उनको यो प्रस्तावलाई भारतीय फौजका प्रमुखले तत्काल फिल्ड अफिसहरुलाई निर्देशन दिने जानकारी बैठकमा गराएका थिए।

असोज १० गते औपचारिक भ्रमणका लागि नेपाल आएका एसएसबी प्रमुख थाउसेनसहित ७ जनाको टोली वार्तामा बसेको थियो भने नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालसहित सबै एआईजीहरु र पूर्व, मध्य र सुदूर पश्चिम क्षेत्रमा कमाण्ड गरिरहेका डिआईजीहरुको सहभागित थियो।

मंगलबारको औपचारिक वार्ता पछि एसएसबी प्रमुख र उनको टोलीलाई सशस्त्र प्रहरीले पोखरा भ्रमणमा लगेको छ। सो टोली आज काठमाडौं फर्कँदै छ भने आजै दुई प्रमुखहरुबीच संयुक्त समझदारीपत्रम हस्ताक्षर हुने कार्यक्रम तय भएको छ। भारतीय टोली भोलि फर्कँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *