पहिराले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

डिसी नेपाल
१४ असोज २०७९ १०:४५
72
Shares

गल्छी। रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ।

नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए। चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौँ पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे।

‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो। उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ।

सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन्। ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए। पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *