निवेदन हालेर प्रचण्डले भारतीय जासुस भेटे, कांग्रेसले भारतीय सैनिक ल्यायो — केपी ओली

डिसी नेपाल
१७ असोज २०७९ १०:५४

वासिंगटन डिसी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जासुसी संस्था रअका प्रमुखलाई भेट्न पाऊँ भनेर निवेदन हालेर उनकै घरमा गएर भेटेको आरोप लगाएका छन् । उनले त्यस्तो भेटमा भारतका विरुद्ध म केही पनि गतिविधि गर्दिन भनेर लिखित सम्झौता गरेको जिकिर समेत गरे ।

२००८ साल माघ ४ देखि ११ गतेसम्म नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्रीले भारत गएर उत्तरका विभिन्न ठाउँमा भारतीय सैनिकको १७ वटा चेकपोष्ट राख्न सम्झौता गरेर राष्ट्रघात गरेको ओलीले बताए ।

अलिकति फरक विचार राखेकै भरमा विदेशी सेना बोलाएर डा. केआई सिंहविरुद्ध दमन गराउने काम पनि कांग्रेसले गराएको आरोप लगाउंदै ओलीले २०१० साल साउन १७ गते भीमदत्त पन्तको विदेशी सेना बोलाएर टाउको काट्न लगाएर बाँसमा झुण्ड्याएर देशभक्तहरुको यस्तै हालत हुन्छ भनेर तमासा गर्ने यही नेपाली कांग्रेस हो भनेका थिए । नेकपा एमालेले व्यवहारमै देशभक्ति देखाएको बताए ।

संसारभर रहेका नेकपा एमालेका शुभचिन्तकहरुलाई दशैंको शुभकामना दिने कार्यक्रममा सप्तमीको दिन जुममार्फत सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको आयोजनामा भएको सो कार्यक्रममा उनले भारत भ्रमणमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताले नेपालको भूमि फिर्ता ल्याउनेतर्फ कुनै पहल नगरेको र कुरै उठाउन नसकेको बताए । ‘हाम्रो भूभाग हो भनेर किन भन्न नसकेको ?’ भन्ने प्रश्न गर्दै ओलीले भ्रमणमा कुरा उठाउनु पर्ने तर नसकेको बताए ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नलिई उनलाई नै इगित गर्दै भारतीय जासुसहरुलाई भेट्न कहिले सिंगापुर पुग्ने, कहिले दुवई, मलेसिया भेट्न जाने काम गरेको आरोप लगाएका छन् ।

आफू प्रधानमन्त्री रहेको बेला रअका प्रमुखलाई भेटेकोबारे स्पष्टीकरण दिंदै उनले प्रवासमा रहेका नेपालीहरुसंग भने, ‘एकजना विदेशी उच्चस्तरीय अफिसर नेपाल आए मलाई भेट्छु भने मैंले स्वाभाविकरुपमा एउटा देशको प्रतिनिधित्व गर्दै आएको मानिसलाई मैंले भेट दिनु कुनै अनौठो कुरा होइन र गोप्य ढंगले भेटिएको पनि हैन । मैंले खुलेआम भेटेको हुँ । त्यसरी भेटेर पनि के के कुराकानी भए भनेर पनि सार्वजानिक गरिएको छ ।’

प्रचण्डको दिल्ली भ्रमण र प्रधानमन्त्री पत्नी आरजु देउवाको दिल्ली भ्रमणबारे टिप्पणी गर्दै उनले भने, ‘अहिलेका मान्छेहरु त दिल्लीमा उनको निवासमा गएर उनलाई भेटिराखेका छन् त । अस्ति भर्खरको मात्र भेट उनको निवासमा गएर उनलाई दर्खास्त हालेर भेटेको होइन ? दिल्ली भ्रमणमा जाँदा ? नचाहिने खालका पूmर्ति लगाउने ? तपाईका विरुद्ध कुनै काम काज गर्ने छैन भनेर कागज गर्ने मानिसहरुले राष्ट्रहितका सवालमा स्पष्ट बोल्ने मेरा विरुद्ध बोलेका छन् ।’

‘अदालत सरकार गिराउने र बनाउने ठाउँ होइन’, उनले भने । यति घण्टाभित्र सरकार बनाउनु शपथ गराउनु भनेर आदेश दिने ठाउँ अदालत नभएको तर त्यस्तो काम भएकाले अब त्यस्तो नहोस् भन्नका लागि आगामी निर्वाचन एमालेले जित्नुपर्ने जिकिर गरेका थिए ।

एमालेले यस चुनावमा जित्दा देशले जित्छ भन्दै एमाले हारे विकासको अभियानले हार्ने दावी गरे । देशको भविष्य निर्माण गर्ने दोवाटो यो निर्वाचन भएकाले सबैको संयुक्त प्रयासले एमालेको विजयका लागि पहल गर्नुपर्ने पनि उनले आग्रह गरे ।

विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नागरिकता नखोज्न र नेपाली नागरिकता यथावत राखिराख्न पाउने आफ्नो प्रस्ताव रहेको बताएका छन् । उनले भनेका छन्, ‘गैरआवासीय नागरिकता होइन तपाईंहरु नेपाली नागरिक नै हो तर विदेशको पनि नागरिकता लिएको भए नेपालमा राजनीतिक अधिकारमात्र फ्रिज गरिदिने हो ।’

आफूले सन् २००६ देखि नै प्रवासमा बस्ने नेपालीहरुलाई छुट्टै नागरिकता नभई भएकै नागरिकता प्रयोग हुने तर राजनीतिक अधिकारमात्र फ्रिज हुनुपर्ने प्रस्ताव गर्दै आएको तर अरुले नसुनेको बताए । ’जतिबेला म अव विदेश छाडेर नेपाल नै फर्कन्छु भन्ने लाग्छ, नेपाल फर्केपछि फ्रिज भएको राजनीतिक अधिकारलाई फेरि सक्रिय बनाउन सकिने व्यवस्था गरौं भन्ने मेरो प्रस्ताव हो’ उनले भने ।

देश वाहिर बसेका नेपालीहरुको असाधारण देश भक्ति भएको भन्दै प्रवासमा बस्ने नेपालीजनको प्रशंशा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *