डेङ्गीको महामारी

कपिल लोहनी
२० असोज २०७९ १३:११

विगत केही हप्तादेखि मुलुक डेङ्गीको महामारीका कारण ज्यादै त्रसित भएको छ । कोरोनाले गर्दा मुलुकको आर्थिक तथा सामाजिक पक्ष शिथिल भएको अवस्थामा यसको निदान भइ नसक्दा नै फेरी डेङ्गीको महामारी शुरु भएको छ । नेपालका गर्मी ठाउँमा खासगरी मनसुनको आगमनसँगै देखिने र महामारीको रूप लिने डेङ्गीको किटाणुवाहक लामखुट्टे मौषम परिवर्तनका कारण अब पहाड पनि चढ्न थालेको छ । काठमाडौँ वा पोखरामात्र नभई यीभन्दा उचाईमा रहेका क्षेत्रमा पनि डेङ्गीको महामारी पुगीसकेको छ ।

सन् २००४ मा पहिलो पटक नेपालमा भेटिएको डेङ्गीको संक्रमणले २०१९ मा मात्र करिव १८,००० मानिसहरूअस्पताल भर्ना हुनुका साथै ६ जनाको ज्यानसमेत गएको थियो । यसरी प्रत्येक वर्ष यो रोगको संक्रमण बढ्दै गएको छ । एक हप्ता अघिको तथ्याङ्कले नै नेपालमा यो वर्ष डेङ्गीबाट संक्रमित हुनेको संख्या २५,००० नाघिसकेको र सो मध्ये करिव १६,००० जना काठमाडौँ उपत्यकामा मात्र भएको बताएको छ । यसो हुनाले स्थिति ज्यादै विकराल हुँदै गएको छ ।

डेङ्गीको रोकथामको निम्ति लामखुट्टेको टोकाईबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हुन जान्छ । त्यसो हुनको निम्ति गाउँशहर तथा घर वरिपरी पानी जम्ने ठाउँहरु पुरेर फोहरमैलाको उचित व्यवस्थापन गर्नु र पुरा शरीर ढाक्ने लुगा लगाउनुका साथै झुल हालेर सुत्ने वा लामखुट्टे भगाउने धुप बाल्ने र क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ ।

त्यस्तै सरकारी पक्षबाट भने टोल टोल, घर घरमा गएर औषधी छर्कने, लामखुट्टेले पूmल पार्ने तथा प्रजनन गर्ने सम्भावित क्षेत्रहरू जस्तै पानी जमेका ठाउँहरूलाई पुरेर सुख्खा राख्ने र फ्याँकिएका टायर, पानी जम्ने पुराना वस्तु आदिलाई नष्ट गरेर तथा फोहरमैलाको उचित व्यवस्थापनका साथै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नु तथा औषधीको उपलब्धता र अस्पतालमा आवश्यक उपचारको व्यवस्थाको चाँजोपाँजो मिलाउन सक्नु पर्दछ ।

झण्डै २ वर्षसम्म कोरोनाको कहरले गर्दा घर गएर राम्ररी दशैँ मनाउन नपाएका मानिसहरू यो पटक भने राजधानी तथा अन्य ठूलासाना शहरबाट आआफ्ना घर गएर दशैँ मनाउन पाएका छन् । डेङ्गीको संक्रमण भएका मानिसहरू राम्ररी निको नहुँदै वा लक्षण नै केही नभएकाले लाखौँको संख्यामादशैँ मनाउन घर पुगेका छन् ।

त्यस्तै विदेशबाट पनि धेरै मानिसहरू यस पटक दशैँ–तिहार मनाउन नेपाल आएका छन् । यसरी मानिसहरूको एक ठाउँबाट अर्को ठाउँमा ठूलो ओहोर दोहोर भइरहेको अहिलेको अवस्थामा डेङ्गी निको भइ नसकेका विरामीहरूलाई लामखुट्टेले टोकेर तिनै लामखुट्टेले अन्य स्वस्थ मानिसहरूलाई टोक्दा यसले अझ ठूलो महामारीको रूप लिन बेर छैन ।

मौसम परिवर्तनका कारण आउने दिनहरूमा नेपालजस्ता अल्पविकसित मुलुकहरूमा डेङ्गी तथा अन्य सरुवा रोगहरूको प्रकोप झनै बढ्दै जाने देखिन्छ । मौसम परिवर्तनका साथै सरकार तथा स्थानीय निकायको तदारुकतामा कमी, लामखुट्टेको प्रजनन स्थलहरू नष्ट गर्ने कार्य गर्न नसक्नु र जनतामा ज्यादै न्यून सचेतना हुनाले पनि वर्षेनी संक्रमण बढ्दै गएको हो ।

संक्रमणको लक्षण नै नदेखिएर स्वस्थ रूपमा नै घुमिरहेका हजारौँ मानिसहरू पनि नजानिँदो तवरले संक्रमणका वाहक भइरहेका छन् । मेरै निक्कै नजिकका कैयन् आफन्त तथा मान्यजनहरू डेङ्गीको चपेटामा परेर ज्यादै सकसमा परिरहेका छन् भने केहीले ज्यान समेत गुमाउनु परेको छ । यसरी ज्यान गुमाउनेहरूको संख्या पनि यसपाली मुलुकभरपहिलेको तुलनामा धेरै बढेर सयौँमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको ‘खोज र नष्ट गर’ भन्ने नारा पनि नारामा नै सिमित भएको छ । न त संघीय सरकार, न नै प्रदेश सरकार र महानगरपालिका तथा अन्य पालिकाले डेङ्गीको रोकथामको निम्ति कुनै ठोस कदम चाल्ने चेष्टा गरेको देखिन्छ । स्थानीय निकायहरू नै ‘खोज र नष्ट गर’ अभियानमा मुख्यतया लाग्नु पर्नेमा केही जनजागरण अभियान वाहेक खासै प्रभावकारी कदम कतैपनि चालिएको देखिएको छैन । सरकारले त सिटामोलसमेत उपलब्ध गर्न सकेको छैन । भन्ने नै हो भने डेङ्गीबाट संक्रमितहरू र मर्नेहरूको दैनिक तथ्याङ्क उपलब्ध गराउने वाहेक सरकारले यसको रोकथाममा अरू खासै काम गरेको देखिँदैन ।

गत माघ–फागुनदेखि नेपालमा देखिन थालेको डेङ्गीको संक्रमणको विरुद्धमा त्यही समयदेखि प्रभावकारी कदम चाल्न थालिएको भए आज यसले महामारीको रूप धारण गर्नै पाउने थिएन । वर्षको शुरुमा मुलुक स्थानीय निर्वाचनमा व्यस्त भयो, त्यसैले यो बारे खास काम गर्न नपाएको वहाना जायज देखिए पनि अब त सरकार र स्थानीय निकाय सबैले समन्वयमा बसेर यस्तो महामारीलाई निर्मूल पार्ने प्रयास गर्नुपर्ने हो ।

तर सरकार यो कुरामा कानमा तेल हालेर र आँखामा पट्टि बाँधेर चुनाव, निजगढ विमानस्थल, एमसीसी, नागरिकता, गठवन्धन, महाभियोग आदि जस्ता मुद्दामा नै व्यस्तरहिरहेको छ भने राजधानीको महानगरपालिकाले पनि आफ्नो मुख्य दायित्व सरसफाइ र जनस्वास्थ्यको सट्टा अन्य छिटो लोकप्रिय हुने काममा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्दै अघि बढीरहेको छ । यी सबै कुराको मार भने निरिह जनतामा पर्न गएको छ र जनता इश्वरको भरोसामा रहन वाध्य भएको अवस्था छ ।

काठमाडौँको भृकुटीमण्डपको चारैतिर रहेका हजारौँ छाप्रे पसलहरूलाई प्लास्टिक ओढाएर छोपिएको छानो माथि हजारौँ टायरहरू छाना थिच्न प्रयोग गरिँदै आएका छन् । त्यस्तै टायरमा मनसुनको पानी जमेर बसेपछि लामखुट्टेले फुल पार्ने र लाखौँ लाख बच्चा हुर्काउने अवसर पाउँदछ । यस्ता छाप्राहरूमा आगलागी भएको खण्डमा ठूलो धनजनको क्षति हुन सक्छ ।

तर हाम्रो महानगरपालिको नजर त्यता पट्टि वा लामखुट्टेका अन्य धेरै सम्भावित प्रजनन स्थलहरूमा पर्नै नसकेको आभास भइरहेको छ । सड्ने र नसड्ने फोहरमैला छुट्टाएर विस्थापन गरिने, फोहरबाट मोहर कमाइने, मल र बिजुली निकालिने आदिजस्ता सपना देखेर नगरवासीहरू बसेको पनि अब त महिनौँ भइसक्यो । फोहरमैला सग्लै उठाएर बञ्चरे डाँडा र ओखरपौवामा लगेर फ्याँक्ने वाहेक फोहरमैला व्यवस्थापन सम्बन्धि कुनै नयाँ काम भइरहेको देखिएको छैन । यदी कुनै नयाँ काम भइरहेको छ भने पनि त्यस्ता कार्यको प्रगतिबारे नियमित रूपमा सूचना दिँदा नगरवासी ढुक्क भएर बस्ने थिए ।

सडकमा पानी जम्ने खाल्टाखुल्टीपुरिनु त कता हो कता झन् झन् बढ्दै गएका छन् । महानगरको मुटुमा अवस्थित दरवारमार्ग र कमलादीमा समेत ढलको उचित व्यवस्थापन हुन नसकेर फोहर पानी सडक र पेटीको बीचमा नै जमेर बस्ने गरेको छ ।यस्ता फोहर र पानीले भरिएका अन्य ठाउँहरू त शहरभित्र कति छन् छन् । यस्तो हुनाले पनि डेङ्गु तथा अन्य सरुवा रोगको प्रकोप बढ्न ठूलो मद्दत पुगिरहेको छ । यति काम त हुन सक्दैन भने घर घर र टोल टोलमा गएर औषधी छर्ने र स्थानीय वासिन्दाहरूलाई रोग र महामारीको निदान बारेको जानकारी दिने कार्य कहिले र कसले गर्ने होला अब ?

सुकुम्वासीहरूको व्यवस्थापन र सार्वजनिक जग्गा फिर्ता लिने प्रयास गरेर खोला किनारका कोरिडोर सडकको निर्माण सुचारु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरहरू हटाएर सडक चौडा बनाउनुका साथै पार्क तथा बिसौनीहरू बनाउने, भूमिगत पार्किङको व्यवस्था गर्ने, सडक बत्तीहरू जडान तथा मर्मत गर्ने, तारहरूको व्यवस्थापन गर्ने आदि जस्ता यावत कार्यहरूमा महानगरपालिकाले लिएको अग्रसरतालाई हामी स्थानीय बासिन्दाले निक्कै हौसलाका साथ स्वागत गरि नै रहेका छौँ ।

तर महामारी र रोगव्याधीको समयमा भने महानगरपालिका र सरकारको स्वास्थ्य सम्बन्धि निकायहरू र स्थानीय जनता सबैले विशेष समन्वय राखेर यस्तो स्थितिको निदान गर्न विशेष पहल गर्न भने कहिल्यै चुक्नु हुँदैन । आशा गरौँ कि हाम्रा सबै तहका सरकार र अन्य सरोकारवाला निकायहरूले डेङ्गु जस्तो खतरनाक महामारीलाई काबुमा लिन विभिन्न प्रकारका आवश्यक कदम चालेर छिटै यसलाई निर्मूल गर्नुका साथै आउँदा वर्षहरूमा पनि यस्ता महामारीहरू आउनु भन्दा पहिलेदेखि नै रोकथामका उपायहरू अवलम्बन गर्न सकुन् तथा आम जनतामा पनि यस्ता महामारी आउनै नदिन र आए पनि बच्ने उपायहरू अवलम्बन गर्ने खुबीको विकास होस् ।

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *