कर्णालीमा वर्षाः तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध

डिसी नेपाल
२१ असोज २०७९ १७:३३

कर्णाली । भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो ।

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिएका थिए । प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताए ।

जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए ।

वीरेन्द्रनगरको डुबान क्षेत्रमा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गरेका थिए । वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोगे्रनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पुर्‍याएको जानकारी दिए । उहाँका अनुसार पर्सेनीमा दुई वटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

भारी वर्षाले रत्न राजमार्ग, छिञ्चु–जाजरकोट सडक खण्ड, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले लगातारको वर्षाले अधिकांश सडक खण्ड अवरुद्ध हुन पुगेको बताए । सडक अवरुद्ध हुँदा बिहानैदेखि यात्रुबीच बाटोमा रोकिएका छन् । सडक डिभिजन कार्यालयले कतिपय सडक खण्डमा खसेको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ । यसैबीच, रत्न राजमार्गअन्तर्गत सुर्खेतको ब्युरेनीमा सडक माथिबाट पहिरो खस्दा गुडिरहेको एक स्कुटी पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट भेरीपुलतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटी पहिरोले पुरिएको र स्कुटीमा सवार दुई जना घाइते भएको जनाएको छ । स्कुटी चालक वीरेन्द्रनगर–४ का २९ वर्षीय कमल पन्त र उनीसँगै सवार सुरेश नेपाली घाइते भएका छन् । घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा पुरिएको स्कुटीलाई डोजर प्रयोग गरी निकालिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *