निर्वाचनमा प्रहरीलाई सेनाको हतियार सापटी

डिसी नेपाल
२८ असोज २०७९ २०:४२

काठमाडौं । नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने हतियार नेपाली सेनासँग सापटी माग्ने भएको छ । आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने हतियार सेनासँग सापटी माग्ने भएको हो ।

नेपाल प्रहरीले २०७९ मा भएको स्थानीय तह निर्वाचनका लागि पर्याप्त हतियार नभएको भन्दै नेपाल प्रहरीले बजेट उपलब्ध गराउन पटक–पटक सरकारलाई ताकेता गरेको भएपनि सरकारले बजेट व्यवस्थापन नगर्दा हतियार खरिद गर्न सकेको थिएन । वार्षिक बजेटलाई छलेर रकमान्तर गरी हतियार किन्न खोज्दा सरकारको विरोध भएपछि प्रहरीलाई हतियार खरिद गर्न रोक लगाएका कारण हतियार किन्न सकेको थिएन ।

हतियार खरिद नभएका कारण प्रहरीले सेनासँग हतियार सापटी माग्नु परेको हो । तत्कालिन समयमा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नेपाली सेनासँग २ हजार ६ वटा हतियार सापटी (बालगिरी) मागेका थिए । अहिलेका आइजीपी धिरज प्रताप सिंहले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा सेनाले ९ सय ९९ वटा पेस्तोल मात्रै प्रहरीलाई निर्वाचन अवधिभरका लागि सापटी दिएको थियो तर अहिले कति लिने भन्ने बारेमा प्रहरीले एकिन गरिसकेको छैन । ‘ स्थानीय तहको निर्वाचनमा कमाण्डरहरुलाई नै हतियार दिन नपुग्ने स्थिति भएपछि सेनासँग मागिएको थियो, अहिले पनि के कति संख्या पुग्दैन त्यसको अवस्था हेरेर हतियार सापटी लिइनेछ’, प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राइले भने ।

प्रहरीले निर्वाचनका लागि लक्षित गरेर आवश्यक हतियार खरिदका लागि ९३ करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबर बजेटको माग निर्वाचन अघि नै गरेको थियो तर अर्थमन्त्रालयले बार्षिक बजेटमा नराखी चोर बाटो अपनाउँदा हतियार खरिद सफल हुन सकेको थिएन ।

अर्थमन्त्री जनार्दन शर्माले २३ चैत २०७८ मा ८४ करोड रुपैयाँ बराबरको हतियार तथा गोली गठ्ठा खरिदका लागि प्रक्रिया अघि बढाउन स्रोत सुनिश्चित गरेपनि बार्षिक बजेटमा उल्लेख गरेका थिएनन् । प्रहरी प्रधान कार्यालयको निर्वाचन सेल स्रोतका अनुसार मंसिर ४ को निर्वाचनमा सेनासँग साना हतियार सापटी लिने तयारी गरिएको छ ।

७५ करोडको गाडी खरिद
नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि एक सय ८० वटा गाडी खरिदको प्रकृया पूरा गरेको छ । प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिदको प्रकृया पूरा गरी सम्बन्धीत कम्पनीले कात्तिकको तेस्रो साता प्रहरीलाई गाडी बुझाउनेछन् । प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको छ ।

प्रहरीले ७५ करोड रुपैयाँको बराबरको गाडी किन्न लागेको हो । जसमध्ये महेन्द्रा कम्पनी र टाटा कम्पनीमाफर्त गाडी खरिद हुने भएको हो । स्कारपियो ८० वटा र टाटाको पिकअप एक सय गाडी खरिद गर्न लागेको हो । महेन्द्रा र टाटा कम्पनीले कात्तिक तेस्रो सातासम्म गाडी प्रहरीलाई बुझाइ सक्नेछन् ।

‘नेपाल प्रहरीले महेन्द्रा कम्पनी र टाटा कम्पनीमाफर्त गाडी खरिद गर्न लागेको हो’, प्रहरी प्रवक्ता डिआइजी राईले भने । प्रहरी प्रधान कार्यालयले चुनावका लागि १ हजार ७ सय नयाँ गाडी आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयलाई पठाएको थियो । जसमध्ये अर्थ मन्त्रालयबाट एक सय ८० मात्रै नयाँ गाडी खरिदका लागि बजेट उलपलब्ध गराएपछि खरिदको प्रकृया अघि बढाएको थियो ।

सोही बजेटबाट एक सय ८० गाडी खरिद हुन लागेको हो । प्रहरीका लागि चुनावमा अझै एक हजारभन्दा बढी गाडी अपुग छ । अपुग गाडी भने भाडामा प्रयोग गर्ने प्रवक्ता राईले बताए । स्थानीय चुनावमा पनि प्रहरीले १२ सय गाडी भाडामा प्रयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *