बाढीपहिरोका कारण विभिन्न जिल्लामा यातायात प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह

डिसी नेपाल
१४ भदौ २०८३ ९:०३

काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडकखण्डमा बाढीपहिरोका कारण आवागमन अवरुद्ध भएको छ। केही स्थानमा सडकमा पहिरो खसेर यातायात पूर्ण रूपमा प्रभावित भएको छ भने कतिपय सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित घडेरीखोला क्षेत्रमा पहिरो खसेपछि टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। पहिरोका कारण सडकमा आवागमन असहज बनेको र यातायात सञ्चालनमा समस्या देखिएको छ।

यस्तै, मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको सडक विभागले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो जाने जोखिमसमेत बढेको छ। सडकमा जुनसुकै बेला पहिरो खस्न वा बाढी आउन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रहरीले अत्यावश्यकबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी चालकले सडकमा खसेको पहिरो, बाढीको बहाव तथा कमजोर सडकको अवस्था बेवास्ता नगर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा रोकिन प्रहरीले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *