रुसी सेनाको प्रशिक्षण शिविरमा आक्रमण, ११ सैनिकको मृत्यु
काठमाडौं । रुसी सेनाको तालिम स्थलमा दुई सशस्त्र आक्रमणकारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा यो तालिम चलिरहेको थियो ।
राज्य समाचार एजेन्सी आरआईएका अनुसार हतियार प्रशिक्षणको क्रममा दुई व्यक्तिले युक्रेनमा युद्ध लड्न स्वयम्सेवा गरिरहेका समूहमा गोली हानेका थिए।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत संघको कुनै देशका नागरिक भएको बताएको छ । तर, उनीहरुको बारेमा धेरै जानकारी दिइएको छैन ।
जवाफी फायरिङमा सेनाका जवानहरूले दुवै आक्रमणकारीलाई मारेका थिए। यस आक्रमणमा १५ जना घाइते भएका छन् ।
आरआईएले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, “स्वयंसेवकहरूलाई विशेष सैन्य अभियान (युक्रेन विरुद्ध) मा सामेल हुन हतियार तालिम दिइएको थियो जब आतंकवादीहरूले युनिटका मानिसहरूलाई आक्रमण गरे।”
मन्त्रालयले भन्यो, “यो गोलीबारीमा ११ जनाको मृत्यु भएको छ र धेरै गम्भीर घाइते भएका अन्य १५ जनालाई अस्पताल पठाइएको छ।”
गत महिना रुसी राष्ट्रपतिले यसअघि सेनामा रहेका वा तालिम लिएका करिब तीन लाख मानिसलाई युद्धका लागि तयार रहन भनेका थिए ।
यो आदेशपछि रुसका धेरै क्षेत्रमा हलचल मच्चिएको छ र विरोध प्रदर्शन भएको छ । धेरै सहरका मानिसहरू रुस छोडेर अन्य देशहरूमा भाग्न थाले।
अक्टोबरको सुरुमा रक्षामन्त्री सर्गेई शोइगुले दुई लाखभन्दा बढी मानिस मिसनमा सामेल हुन चाहेको बताएका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एक अन्तर्वार्तामा आक्रमणकारीहरू मध्य एसियाली देश ताजिकिस्तानका थिए र धर्मको नाममा विवाद भएपछि गोली चलाएको बताए।
ताजिकिस्तान एक मुस्लिम बाहुल्य देश हो जबकि रूसका आधा भन्दा बढी मानिसहरू विभिन्न विश्वासका साथ ईसाई धर्मलाई पछ्याउँछन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार रूसी राष्ट्रपतिले फेब्रुअरीमा युद्ध सुरु गरेयता करिब ६५ हजार रुसी मारिएका छन् । यो संख्या रुसको आधिकारिक आंकडा भन्दा १० गुणा बढी हो।
रूस को आधिकारिक तथ्याङ्क अनुसार, यो संख्या ५९३७ हो। यसैबीच, अगस्टमा अमेरिकाले युद्धमा अहिलेसम्म रुसका ७० देखि ८० हजार सैनिक क्षतिग्रस्त भएको दाबी गरेको थियो । जसमा घाइते र मृतक दुवै सैनिक छन्।







डिसी नेपाल







Facebook Comment