नियात्रा : न्यापोलीले उकासेको थारु भिलेज

खेमराज पोखरेल
५ कार्तिक २०७९ ७:१३

मेरो सामुन्नेमा नै देखिएको छ साइनबोर्ड। साइनबोर्डमा लेखिएको छ-सौराहा थारु भिलेज रत्ननगर ७, चितवन। साथी विश्वनाथ खनाल सरलाई सोधेको छु-यो सौराहा पनि रत्ननगर नगरपालिकाभित्र पर्दोरहेछ हगि?

जबाफ आएको छ-हो त नि। तर यसको पुरानो नाम चाहिँ मालपुर हो दाजु।

थाहा पाइसक्नु भयो कि म चितवन निवासी मेरा मित्र विश्वनाथ खनालसँग आएको छु सौराहाको थारु भिलेज घुम्न। घुम्ने प्रयोजन ‘एक पथ दो काज’ होइन। ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ पनि होइन। विशुद्ध अलमस्त टन्डेली हो। नितान्त एक्लो र फगत टन्डेली। टन्डेलीको मजा टन्डेली गर्नेलाई मात्र थाहा हुने कुरा हो। त्यसैत्यसै बरालिनुको पनि बिछट्टै मजा हुन्छ।

म अमेरिकामा छँदै विश्वनाथ सर भनिरहनु हुन्थ्यो-यो पल्ट त भाउजूलाई पनि लिएर लामै बसाइका लागि चितवन आउनुपर्छ है दाजु।
तर म पाहुना लागेको छु एक्लै।

यो पल्ट दोक्लो जुरेन। मलाई कस्तो लाग्छ भने यदि हृदय मिसिएको छ भने पाहुना लाग्दाको स्वादले दिने आनन्दका अगाडि फाइभ स्टार होटलले दिने हस्पिट्यालिटी फिका पर्छ।

पाहुना लाग्ने संस्कृति औपचारिक र बोझिलो भयो भने त होटेल संस्कृति चलेकै छ। पन्पिएकै छ। तर म पटकपटक विश्वनाथ सरकोमा पाहुना लाग्नेगरेको छु भने तपाईँ अनुमान गर्नुहोस्।

सौराहा थारु भिलेजको गेटबाट भित्र पस्दै छौँ विश्वनाथ सर र म। गाडीबाट झरेपछि रुमालले पसिना पुछ्दै उहाँले भन्नुभएको छ—दाजु! जेठ २६ गते नै भइसकेछ। महिना पनि बित्नै लाग्यो। पानी परेको छैन। गर्मी उधुम छ।

त्यसो त म आफू पनि मधेसकै उत्पादन हुँ। मधेसकै रसदपानी खाएको मान्छे हुँ। तर पनि पसिनाले भने ‘मधेसको होस्’ भनेको छैन। म पनि निथ्रुक्क भएको छु। खैर केही छैन। बाख्रा हुल्ने बेला भएको घामले दिने गर्मी न हो यो।

त्यसो त म भनूँ कि मलाई त्यो सौाराहा थारु भिलेजको बारेमा केही मेसो र पत्तो थिएन। सौराहाका होटलमा थारु सांस्कृतिक लट्ठी नृत्य देखाइन्छ, पर्यटन बढाइन्छ र पैसो तानिन्छ भन्ने चाहिँ थाहा नहुने कुरा भएन।

यो यात्राको संयोग विचित्रको नै थियो। हिजोकै त कुरा हो, विश्वनाथ सर र म उहाँकै बैठक कोठामा बसेका थियौँ।सोध्नु भएथ्यो-कतै घुम्न जाने कि दाजु?

किनभने मसँग घुम्न जाने कुनै निस्चित गन्तव्य थिएन। तर मैले हल्का रूपमै भनेको थिएँ-यसो सौराहा पुगेर गैँडासँग उभिएर फोटो खिचौँ र चितवन आएको प्रमाण फेसबुकलाई दिऔँ।

विश्वनाथ सरले गाडी ग्यारेजबाट निकाल्नु भएथ्यो र सौराहा पुगेका थियौँ। सौराहामा पुगेपछि उहाँले गाडीलाई सफारी क्लबको पार्किङलटमा पार्क गर्दै भन्नु भएथ्यो-यो होटल मेरो सानिमाका छोरा भाइको हो।

विश्वनाथ सरले यताउति फोन बाजा बजाउनु भएको थियो। म पछि लागेको थिएँ। कहाँ जाने मलाई थाहा थिएन। तर हिँड्दै थिएँ पछिपछि। हामी हिँड्दै हरिराम महतो याने सौराहा कमाण्डरको हाँसको छोइला पाउने छाप्रोमा पुगेका थियौँ।

खरले पातलो गरी छाएका सिँयाल मात्र ताप्न मिल्ने ससाना छाप्राहरू, माटाले लिपेको भुईँ, खडाहीको पारदर्शी छेकबार, सामान्य टेबुल कुर्सी, पातलो तारले बाँडिएको बिजुलीबत्ती, पुराना गुलुबहरू र पुरानो देखिने बिजुली पङ्खा, आँगनमा सेकुवा लाउने फलामे चुल्हो, यताउता गरिरहेका थारु पहिरनमा केही महिला, तथा धानको ढेरी यति थिए ती छाप्रोका वरिपरिका विशेषता। लाग्दथ्यो हामी कुनै आर्थिक अवस्था कमजोर भएको विशुद्ध थारुका घरमा छौँ।

यो छाप्रोमा हाँसको छोइला खानकै लागि मान्छे काठमाडौँदेखि आउँछन्। यहाँ प्लेटको हिसाबले हाँसको छोइला पाइन्न। कम्तीमा पनि आधा हाँस त लिनैपर्छ। पहिले नै अर्डर गर्नुपर्छ र पालो लामो पर्खनु पर्छ। अनि यो छाप्रोमा दैनिक एक लाखसम्मको व्यापार गर्छ होला यो कमान्डरले।

विश्वनाथ सरको फोनबाजाको कमालले होला हामीलाई खोज्दै सफारी क्लबका प्रोपराइटर गणेश दाहाल, जङ्गल रिसोर्टका टोकराज तथा थारु भिलेजका मधु सिलवाल पनि हाँस्दै आइपुग्नु भएको थियो। हाँसको सेकुवा तयार हुँदै थियो।

सिङ्गो हाँसलाई चुल्होको अग्गेठमा हालेर पकाइँदै थियो। तर हामी साँधेको भटमाससँग रमरमिन थालेका थियौँ। हाँसको छोयला अगाडि प्लेटमा आएको थियो। मैले अलिकति छोयला खाइसकेपछि भनेको थिएँ-सर! त्यसो त म आफू हाँसको परिकार त्यति मन पराउने मान्छे होइन। तर यहाँ पकाएको हाँसको छोइला त जिब्रो मै अड्कियो नि। विचित्र मन पर्यो।

मेरा कुरा सुनेर विश्वनाथ सरले भन्नु भएथ्यो-दाजु! यो छाप्रोमा हाँसको छोइला खानकै लागि मान्छे काठमाडौँदेखि आउँछन्। यहाँ प्लेटको हिसाबले हाँसको छोइला पाइन्न। कम्तीमा पनि आधा हाँस त लिनैपर्छ। पहिले नै अर्डर गर्नुपर्छ र पालो लामो पर्खनु पर्छ। अनि यो छाप्रोमा दैनिक एक लाखसम्मको व्यापार गर्छ होला यो कमान्डरले।

रमरम रन्किन थालेका थियौँ हामी। चिना परिचय दह्रै हुन थालेका थियो। त्यहाँ लाखलाखका मात्र होइन, करोडकरोडका कुरा हुँदै थिए। पैसाको कुरा उठेपछि जहिले पनि कुशल श्रोता बन्न म अभ्यस्त छु पहिलेदेखि नै।

तर म लेखक हुँ भन्ने कुरा उठेको थियो। र, त्यसले महत्त्व पाएको थियो। यसै बेला प्रोपराइटर मधु सिलवालले सौराहा थारु भिलेजको भ्रमण गर्ने निम्तो दिनु भएको थियो। भोलि भेट्ने बाचासहित छुट्टिएका थियौँ र हामी गणेश दाहालको सफारी क्लबमा गएर सुतेका थियौँ। यो हिजोको कुरा थियो।

हिजोको त्यही सल्लाहअनुसार अहिले विश्वनाथ सर र म सौराहा थारु भिलेज पुगेका छौँ। गाडी पार्किङ गरेका छौँ। प्रोपराइटर मधु सिलवाल हस्याङफस्याङ गर्दै आइपुग्नु भएको छ। भिलेज देखाउन थाल्नु भएको छ।

म सोच्दै छु कि यो ‘सौराहा थारु भिलेज’ नाम गरेको कुनै भव्य होटल होला। मेरो कुतूहलतालाई शान्त पार्दै भनिएको छ कि यो एउटा होटल होइन, थारु संस्कृति बुझाउने पूरै गाउँ हो। गाउँ बनाइएको हो। भौतिक संरचनाको निर्माण भइरहेको छ। सम्पन्न हुन बाँकी प्रकारको निर्माणाधीन छ यो भिलेज अहिले।

मूल गेटतिर प्रवेश गरेका छौँ। गेटमा सिम्बोलिक रूपमा दुईपट्टि नै राखिएका खलिफाको मूर्तिले सुरक्षासहित सलाम गरेको छ। अलिकति खलिफाका बारेमा भनूँ। खलिफा भन्नु सुरक्षाको लागि राखिने वलवान पहलमान हो। नेपालको तराईतिर सम्पन्न मान्छेले याने कि सामन्तले खलिफा राखेका हुन्थे।

त्यो सभ्रान्तको प्रतीक मात्र होइन, समाजमा धाकरवाफ जमाउन पनि हो। बलियाबलिया खलिफाले त्यो बेलाको सुरक्षा पद्धतिलाई पनि बुझाउँछ। तराई क्षेत्रमा थारुलाई बलियाबाङ्गा समुदाय मानिन्छ। चितवनको औलो लाग्ने ठाउँमा थारुहरू बस्नु यो कुराको प्रमाण हो।

थारु संस्कृतिको लागि यो खलिफा अपरिहार्य हो। गेटबाट पस्तापस्तैको करिडोरमा थारु संस्कृति झल्काउने छतरी हाउस तथा त्यसका मुन्तिर वाटर फाउन्टेन बनाइँदै छ। सम्झँदा पनि यो आनन्ददायी लाग्छ।

अब हामी थारु भिलेजको भित्री भागमा पुगेका छौँ। एउटा सानो गह्रा खेतभित्र हलो जोत्दै गरेको थारुको मूर्ति देखिएको छ। त्यहाँ बयल (गोरु), हर (हलो), जुवा (पाला), लगना (प्रहेड), हरिस, सानिल (सोइला), टिकुलारी (जोतारी) जोता प्रष्ट रूपमा देखिँदैछ।

हेर्दा साह्रै आनन्द लाग्ने खालको छ यो हलो जोतेको। आफैँले भोगेको यो हलो जोत्ने परम्परालाई त अहिले मैले बिर्सन थालिसकेको छु भने परम्परागत हलो जोतेको नदेखेका वर्तमान पुस्ताका लागि त यो आश्चर्य र रोमाञ्चकता प्रदान गर्ने नै हुन्छ होला भनी अनुमान गर्दै छु।

विकसित संसारका लागि त यो दृश्य मानव विकासको ऐतिहासिक दस्तावेज हुन पनि सक्छ। किनभने मैले अमेरिकाको युटाह राज्यको एउटा पर्यटन क्षेत्रमा मानव विकासको अवस्था झल्काउने गरी यस्ता एन्टिक सामग्री संरक्षण गरिएको पाएको थिएँ।

हामी एउटा बडेम्माको हलमा आइपुगेका छौँ। मैले सोध्नुभन्दा पहिले नै प्रोपराइटर मधु सिलवालले भन्नुभएको छ-यो ‘थारु सांस्कृतिक केन्द्र’ बनाउने हल हो। थारुका जन्मपूर्वदेखि मृत्युपश्चातसम्म गरिने विविध संस्कृति, संस्कारलाई देखाउने स्थल हो। थारु नृत्य पनि यसै हलमा देखाइने छ।

गजब लागेको छ मलाई। लोप हुन लागेका संस्कृतिलाई यसरी संरक्षण सरकारको त दायित्व हुँदै हो, नागरिकको पनि दायित्व हो भन्ने बुझेका दायित्व निर्वाह गरेकाले मनमनै भनेको छु-धन्यवाद मधुजी।

मधुजीले अघि लागेर हामीलाई डोर्याउँदै हुनुहुन्छ। प्राङ्गणमा एउटा वरिपरि दर्शकदीर्घा बस्ने पटाङ्गिनीका बीचमा खुला ठाउँ देखिएको छ। यो थारुको खुला सांस्कृतिक प्रदर्शन स्थल हो रे।

जसका वरिपरि बसेर थारु सांस्कृतिक नृत्य हेर्ने, थारुका परिकारहरू खाने रमाइलो गर्ने अवधारणा निकै ओजस्वी र रोमाञ्चक लागेको छ मलाई। यो ठिक काठमाडौँको चोक र पटाङ्गिनी जस्तो देखिन्छ।

चोकका बीचमा सांस्कृतिक कार्यक्रम गर्ने र वरिपरि बनाइएका विशेष पटाङ्गिनीमा विशेष गरेर थारुका परिकारहरू हाँसको छोइला, कुखुराको मासु, माछा, घुँगी, गङ्गटा, चिचर (सालको पातमा भात राखेर भुङ्ग्रोमा पोल्ने घौरा) जस्ता खाने कुरा रोजीरोजी खान पाइने व्यवस्था गर्ने योजना सुनाउँदा मेरो स्वादे जिब्रो लोभिएको छ। यो अहिले चालु त भएको छैन, तर कल्पना गर्दा पनि निकै रमाइलो लागेको छ मलाई।

यो भिलेजको प्राङ्गणमै एउटा मन्दिर छ जहाँ थारु जोडीका परम्परागत तथा सांस्कृतिक बिहे गर्ने गरिन्छ। त्यसको नजिकै काठको नाथ (डुँड) प्रदर्शनीमा छ डुँड भनेको काठको मुढोको गिँडलाई खोपेर गाईवस्तुलाई पानी तथा कुँडे खान दिने काठको भाँडो हो।

पछि त सिमेन्ट आएपछि सिमेन्टका पनि बन्न थालेका छन्। खासमा यस्ता डुँडहरू थारु संस्कृतिमा मात्र नभएर पूरै नेपालको तराईमा थियो जस्तो लागेको छ मलाई। तर थारु संस्कृतिमा त यो डुँड अपरिहार्य नै हो। यति त मलाई पनि थाहा भएकै कुरा हो।

कम्पाउन्डको अलि परतिर लहरै ससाना छाप्रा घरहरू छन्। मधुजी बताउँदै हुनुहुन्छ कि ती थारु सङ्ग्रहालय हुन्। ती घरमध्ये एउटा घरमा बर्दिया र दाङका थारुको सम्पूर्ण सांस्कृतिक विषय झल्काउने म्युजियम, अर्को घरमा चितवन नवलपरासीका थारु म्युजियम, अर्कोमा बारा पर्सा र रौतहटका थारु म्युजियम रहेको छ। म्युजियमका सामग्री सबै सङ्कलन भइसकेको छ। म्युजियमका ढोका परम्परागत छन्।

फलामको सिक्रीले ढोका थुनिएको छ। ढोकाले आफैँ पुरानो शैली र संस्कृति बुझाउँदै छ। यद्यपि केही दशक पहिला बनेका घरका ढोकाका फब्ल्याँटाहरूमा त्यस्तै फलामका साङ्गलाले थुनिन्थ्यो मधेसमा। म आफैँ मधेसमा जन्मिएको, हुर्किएको र आफ्नै घरमा सिक्रिले ढोका थुन्ने गरेको देखेको र खास गरी सप्तरीका थारु संस्कृतिको सानिध्यबाट चाल पाएको सांस्कृतिक कुरा हो यो।

तर झ्यालमा परम्परागत थारु संस्कृतिलाई बुझाउने खडाइलाई कलात्मक रूपले सजाइएको भने मैले देखेको थिएन। सायद यो खडाइ चितवन विशेषका थारुहरूको संस्कृतिसँग सम्बन्धित हो कि जस्तो लागेको छ। पूर्वी तराईमा भने सन्ठी (जुटपाटको भित्रको काठभाग) तथा पटेरलाई यसरी प्रयोग गरिने गरेको कुरा मेरा दिमागमा झलझली आएको छ।

सोही कम्पाउन्डभित्र थारुबच्चाले पढ्ने, खेल्ने ठाउँहरू पनि व्यवस्था गरिन थालेको कुरा मधुजीले बताउनु भएको। यसैगरी अन्य थारु भाषीलाई पनि पढाउने तथा थारुथरुनीलाई केन्द्रमा राखेर प्रौढ शिक्षाको व्यवस्था गर्ने योजना सुन्दा म आह्लादित भएको छु।

मान्छे भएर जन्मेपछि भनिन्छ समाजको ऋण तिर्नु पर्छ। समाजको ऋण भन्नाले गुरु ऋण, पितृ ऋणलगायत राष्ट्रको ऋण बुझिन्छ। यो ऋण मान्छेले तिर्नु पर्छ भन्ने हिन्दु शास्त्रमा पनि लेखिएका कुरा हुन्। यस्तो सामाजिक तथा शिक्षा दान दिने कर्मले मान्छेको जीवननै गदगद हुन्छ। हो यही गदगदीय कर्ममा जुटेको हुनुहुन्छ मधुजी भन्ने लागेको छ मलाई।

थारु पोसाक तथा लगाएर फोटो खिच्ने कुरा पनि प्रदर्शनीमा राख्ने योजना रहेको कुरा सुन्दा ज्यादै हर्षित भएको छु। यसले थारु संस्कृतिको जगेर्नामा निकै वल प्रदान गर्नेछ भन्ने लागेको छ।

यति मात्र होइन; भिलेजको प्राङ्गणमा बाल उद्यान, बालसरोवर (स्वीमिङ पुल) समेतको व्यवस्था गरिन लागेको देखेर त थारु संस्कृतिको स्वादमा आधुनिकता पनि मिसिएर जिवन्त हुने ठान्दै छु।

म्युजियमको नजिकै उत्तरपट्टि छाप्राहरू छन्। मधुजी मलाई लगातार बताइरहनु भएको छ कि त्यसमध्येको एउटा थारु भान्सा घर हो। पर्यटकले सो भान्सामा गएर थारु परिकार खान पाउने व्यवस्था गर्न थालिएको छ।

भान्सा घरका ठाउँठाउँमा मकैका झोथा (झुत्ता) झुन्डिरहेको छ। थारु संस्कृतिको ज्यादै महत्त्वपूर्ण जाँतो घर छ। जाँतो पिँधेको लाइभ हेर्न पाइन्छ। जाँतैमा पिँधेको खानेकुरा खान पाइन्छ। यसपछि छ डुगुरी घर (भकारी घर), गाडा घर, विशुद्ध थारुको विशुद्ध भान्सा घर छ।

पिँढीमा बसेर खान पाइन्छ यो घरमा। आगोको चुल्हो ताप्न पाइन्छ। बाँसको भाटाको मचान तथा भाँडा घोप्ट्याउने ठाउँ अवलोकन गर्न पाइन्छ। चामल दाल आदि राख्ने परम्परागत स्टोर पनि हेर्न पाइन्छ। यी सबै थारु परम्परासँग जोडिएर आएका विषय हुन्।

त्यसको प्राङ्गणमा आधुनिक सुविधासम्पन्न एउटा खडार (गेस्ट हाउस) देखिएको छ। यो खडारमा थारुका बारेमा अध्ययन गर्न आउने मान्छेलाई मात्र बस्न दिइने योजना रहेको छ। यसैगरी हेर्दा झुप्रो तर आधुनिक सुबिधाले भरिपूर्ण गेस्ट हाउस पनि बनाइँदै छ, जहाँ पर्यटक रात बसेर आधुनिक सुबिधाका साथमा परम्परागत थारु संस्कृतिलाई नजिकबाट अबलोकन, पर्यवेक्षण तथा अन्तरघुलन गर्न सक्छन्।

नेपाली गाउँले संसारमा देखिने ढिकी घर पनि यहाँ देख्न पाइएको छ। तोरी पेल्ने काठको कोल देख्दा नेपाली पुरानो प्रविधि याद आएको छ। मैले आफैँ बाल्यकालमा तोरीको तेल पेल्नका लागि गोरुले चलाउने काठको कोल देखेको कुराको सम्झना भएको छ मलाई।

मेरो आफ्नै जीवनलाई बाल्यकालमा आमाको फेर समाएर तोरी तेल पेल्न÷किन्न गएको सम्झना दिलाएको छ। यसले मान्छेको जीवन विकासका चरणहरू बारे दृश्यगत अध्ययन र अनुभूति दिन सफल हुनेछ भन्ने ठान्दै छु।

भिलेजकै प्राङ्गणभित्र एउटा टौवा छ। टौवा भनेको तराईमा थारुलगायत अन्य समुदायको कृषि तथा पशुपालन गर्नुपर्ने जीवनको अभिन्न अङ्ग हो। खेतबारीमा फलेको अन्नलाई चराचुरुङ्गीबाट जोगाउन यस्ता टौवा बनाइने प्रचलन हो।

टिन ठटाएर चराचुरुङ्गीलाई धपाउने प्रविधिको द्दोतक हो टौवा। गर्मी याममा अग्लो टौवामा गएर चिस्सिएर सुत्ने प्रचलनको साक्षी पनि हो टौवा। त्यसैले थारु संस्कृतिमा टौवाको विशेष काम र महत्त्व छ। हो यही कुरालाई यो भिलेजले प्राथमिकताका साथ प्रदर्शनीमा राखेको देखेर मेरो मन गदगद भएको छ। म आफैँलाई बाल्यकालमा टौवामा बसेर टिन ठटाएर सुगाबाट मकै जोगाएको सम्झना आइरहेको छ।

टौवाको छेउमै बयलगाडाको हाल चढाएको पैया छ। मलाई सम्झना छ कि तिनताक तराईको जनजीवनमा बयलगाडा अपरिहार्य थियो। बयलगाडा मतलब गोरु गाडा। याने गडी। एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न, हाटबजार गएर आफ्ना उत्पादन बेच्न-किन्न, बिहेलगायत सांस्कृतिक पर्व सम्पन्न गर्न तथा मेलाधाम गर्न बयलगाडा नै अपरिहार्य थियो।

यहाँसम्मकि कसको बिहेमा कतिवटा बयलगाडा जन्ती गए भन्ने विषय प्रतिष्ठासँग जोडिएको हुन्थ्यो। बयलगाडा गुडाउनका लागि काठको विशेष प्रकारको पैया (चक्र) हुन्थ्यो। खिएर नबिग्रियोस् तथा गुडाउन सजिलो होस् भन्नका लागि काठको पैयाको वरिपरि फलामको पाताले मोरिएको हुन्थ्यो।

त्यसलाई हाल चढाएको भनिन्थ्यो। अमेरिकाको विविध पर्यटन क्षेत्रमा यसरी हाल बयलगाडा (अमेरिकामा घोडागाडा ?) का पैयामा हाल चढाएको गाडी नै प्रदर्शनीमा राखिएको देखेको छु। अब त यो कृषिसंस्कृति हराउँदै गएको छ।

त्यसैले यहाँ त्यो संस्कृतिलाई जिवन्त राख्न पैया तथा पूरा बयलगाडालाई नै प्रदर्शनीमा राखिएको छ। विकासको क्रममा बयलगाडा पछिपछि टायरका पैयाले चल्ने टायरगाडा भित्रियो। र यो भिलेजमा टायर गाडा पनि प्रदर्शनीमा राखेर थारु संस्कृतिका सम्पूर्ण कुराहरूलाई झल्काउने प्रयत्न गरिएको छ।

मलाई त यस्तो लागिरहेको छ कि यो थारु भिलेजले थारु संस्कृति झल्काउने मात्र होइन कि कुनै परम्परागत थारु बस्तीमा प्रवेश गरेको अनुभूत गराउँदै छ। खरको छानो, खपडाको छानो भएको घर, माटोले लिपेका घरहरू, थारुले प्रयोग गर्ने मचान, बयल गाडाका पैया तथा पूरै गाडी प्रशर्दनीमा राखिएको देखेर म आफैँ एकपल्ट भोक्ता पर्यटक जस्तो भएको छु।

आफ्नै बाल्यकालमा फर्केको छु। गोरु गाडामा चढेर वनजङ्गल, हाटबजार तथा जन्त गएको सम्झना आइरहेको छ। कसका गोरु कति कुद्ने भनेर गडीका गोरु कुदाएको क्षण अविष्मरणीय भएको छ मेरो।

प्राङ्गणमा ससाना फूलबारी बनाइएका छन्। हरियो चौर छ। चौरका वरिपरि थारुका संस्कृतिलाई कलात्मक तरिकाले व्यक्त गर्ने धेरै थरी कुराहरू राखिने छन् भन्ने भनाइ छ मधुको। एउटा पूरै थारु गाउँलाई पर्खालले घेरिएको जस्तो लाग्दैछ यो भिलेज।

यति कुरा अबलोकनपछि मैले प्रोपराइटर मधु सिलवाललाई पत्रकारले जस्तै सोधेको छु—यो थारु भिलेज खोल्नुको खास उद्देश्य चाहिँ के हो? पैसा कि दायित्व?

मेरो अनपेक्षित प्रश्न सुनेपछि मधुजी एक छिन चुप लाग्नु भएको छ। र, भन्नुभएको छ-पैसा त अर्कै खाले होटल खोलेर पनि कमाउन सकिन्थ्यो। इटालीमा पैसा कमाइरहेकै थिएँ। तर एक मानेमा नेपालबाट थारु संस्कृति लोप हुँदैछ भन्ने चिन्ताले सताएकै हो। चितवने भएका कारणले थारु संस्कृतिलाई रक्षा गर्ने नै यो भिलेज खोल्नुको पहिलो उद्देश्य हो।

मैले फेरि उनै सिलवाललाई पत्रकारले जस्तो प्रश्न सोधेको छु- तपाईँ थारु कम्युनिटीबाट हुनुहुन्न। यो साम्प्रदायिक युगमा यसरी थारु संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने सोच कसरी आयो?

यो पल्ट भने उनी मजाले हाँसे र भने-म अलि उग्र विचारभन्दा ब्रोड विचार राख्छु। म इटालीमा बस्थेँ। मेरा श्रीमती तथा छोराछोरी अहिले पनि इटालीमा नै छन्। अहिले पनि म महिनामा एकपल्ट इटाली पुगेकै हुन्छु।

इटालीको न्यापोली भन्ने ठाउँमा त्यहाँका आदिवासीहरूको संस्कृतिलाई सम्बर्धन गर्नका लागि एउटा विशुद्ध भिलेज बनाएको देखेपछि म यो कामतिर हौसिएँ। इटालीका ती आदिवासी त अब कमै देख्न पाइन्छ।

सभ्यताका दौरान ती आधुनिकताको विकासमा विलिन भए। तर त्यो आदिवासी भिलेजमा ती आदिवासी सभ्यता र संस्कृति भने जिउँदै छन्। र, युगयुग बाँचिरहने छन्।

आज मलाई पनि पत्रकार हुने जोस चढ्यो कि क्या हो म मधुजीलाई दनादन प्रश्न पो सोध्दै छु-यो कामबाट के कति फाइदा हुन्छ तपाईँलाई?
उहाँले जबाफ दिनुभएको छ-पहिलो त थारु संस्कृतिको जगेर्ना हुन्छ।

अर्कोतर्फ थारुसंस्कृति जस्ता आदिवासीको संस्कृति हेर्नका लागि संसारबाट मान्छे आउँछन्। मलाई पनि केही पैसा प्राप्त हुन्छ भने यो भिलेजमा यहाँका लगभग ३५ जना थारु महिलाले प्रत्यक्ष रोजगारी पाउँछन्। अप्रत्यक्ष रोजगारी त धेरै हुन्छ। यो कामबाट प्राप्त भएको रकम फेरि थारु संस्कृतिकै जगेर्ना, थारुकै उत्थानमा लगाउने हो। हेर्दै जाऊँ के हुन्छ?

मेरो प्रश्न सकिएको छैन। सोधेको छु-खर्च कसरी चल्छ यत्रो प्रोजेक्टको?

उहाँ आत्मविश्वासका साथ भन्दै हुनुहुन्छ-लङ टर्ममा १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ। तर अहिले ६ करोड खर्चमा प्रारम्भिक रूपमा सञ्चालनमा ल्याउने छु। बनिसकेपछि यो भिलेजमा पार्किङ फ्री हुन्छ। तर भिलेज प्रवेशको शुल्क लाग्छ।

थारु भिलेज भित्र रहेको म्युजियम हेर्नका लागि शुल्क लाग्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू आउने छन्। यसलाई सुन्दर बनाएपछि यहाँ आएर सिनेमाको सुटिङ पनि हुने छ।

किनभने मलाई थाहा छ विश्व सिनेमा जगत्मा सुटिङका लागि यस्ता अग्र्यानिक र सुबिधासम्पन्न ठाउँको निकै महत्व छ। यी सबै आम्दानी मिसाउँदा खर्च चल्छ भन्ने आस गरेको छु। नाफा भएन भने पनि के छ त? यस्तै त हो। सन्तुष्टि त हुन्छ नि।

नभन्दै यहाँ कुनै म्युजिक भिडियोको छायाङ्कन भइरहेको छ। छायाङ्कनमा भाग लिने थारु पहिरनमा महिला तथा पुरुष छन्। गीत बजिरहेको छ। नाचिरहेका छन्। टेकमाथि टेक भइरहेको छ। बनिसकेकै छैन, तर यो ठाउँ थारुमय बनेको छ।

यो थारु भिलेजको निर्माणमा थारु संस्कृतिका विज्ञको सल्लाह छ। मधुजीको आँट छ। सिप छ। सिप किन्ने तागत छ। बैँकसँग पैसा छ। यसरी दायित्व पनि निर्वाह हुने, आम्दानी पनि हुने, रोजगारी पनि सिर्जना हुने यो कर्मका लागि प्रोपराइटर मधु सिलवाललाई धन्यवाद भनेको छु।

तर मेरो पत्रकार मुद्रा अझै शान्त भएको छैन। मैले मधुजीलाई सोधेको छु-यसको क्षेत्रफल चाहिँ कति हो नि?

उहाँले हाँसेर भन्नुभएको छ-अहिले २ बिघा १० कट्ठा। तर पछि आवश्यक पर्यो भने थप्ने बिचार छ। जोडिएकै जग्गा खाली छन्। चल्यो भने सके किनौला नसके लिजमा भए पनि लिउँला नि सर।

मेरो जिज्ञाशा सकिएको छ। थारु भिलेजको यात्रा पनि मजाले भएको छ। यो थारु भिलेज पूर्ण भएर सञ्चालनमा आएपछि फेरि हेर्न आउने मनसुवा छ। समयको फेर हो के पो भन्न सकिन्छ र? र, अब भने हामी हिजोको एकुन्द्रो मेट्न सौराहा थारु भिलेजबाट बाहिरिएर हरिराम महतोको हाँसको छोयलातिर हान्निएका छौँ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *