सेक्रेमेण्टाेमा फरक तरिकाले सम्पन्न भयो नेपाली साहित्यिक कार्यक्रम

डिसी नेपाल
१६ कार्तिक २०७९ ६:२०

अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो शहरमा पृथक शैलीमा रचना वाचन गरेर मनाइएको छ।

तिहारको लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा कुनै सभापति राखिएको थिएन, न त खादा माला वा भाषण नै गरिएको थियो।

नेपालीका कार्यक्रम भन्ने वित्तिकै अतिथि आसन, खादा माला आदिका औपचारिकतमै समय व्यतीत हुने गरेकोमा सेक्रेमेण्टो क्षेत्रका साहित्यप्रेमी नेपालीहरुले त्यसलाई तोडेका छन्।

बृहत् सेक्रेमेन्टो क्षेत्रको डेविस शहरको मेरी एल स्टेफेन्स पु्स्तकालयको हलमा अक्टोवर ३० तारिकका दिन सम्पन्न भएको कार्यक्रमको आरम्भ महेश गौतमले स्वागत मन्तव्य, प्रमोद अमात्यले कार्यक्रम खाका र नीरन्जन वाग्लेले महाकविको कविता अंश पाठ गरेर गरेका थिए। कार्यक्रमको संचालन स्वस्तिका स्वस्ति र बाबु आचार्यले गरेका थिए।

साहित्यकार प्रमोद अमात्यका अनुसार, सन् २०१६ सालदेखि यस शहरमा देवकोटा जयन्तीको कार्यक्रम यसरी नै भव्यताकासाथ शुरु हुन थालेको हो। कार्यक्रम संचालन अगाडि भेटघाट, पुस्तक प्रदर्शन, विक्री वितरण तथा चियापानको अनौपचारिक कार्यक्रम रहेको थियो।

मञ्चमा कुनै औपचारिक आसन ग्रहन, माला खादा, भाषण आदि गतिविधि बेगर सहज र सरल तवरमा रचना वाचन र श्रवणको कार्य सम्पन्न भएको थियो।

रचना वाचनमा विनोद पौड्याल, कृष्णमान श्रेष्ठ, अमर तामाङ्ग, सर्वज्ञ वाग्ले नवराज कार्की, दुर्गा दाहाल तथा सुरेश भट्ट हुनुहुन्थ्यो । त्यस्तै रितादेवी प्रधान, शान्ति पौडेल, मधु पोख्रेल, र स्वस्तिका स्वस्तिले पनि आफ्ना रचना सुनाएका थिए।

कार्यक्रममा बाबु आचार्य, मुरारी पौडेल, सुरेन्द्र वाग्ले, महेश गौतम, नीरञ्जन वाग्ले तथा प्रमोद अमात्यले पनि आआफ्ना रचना सुनाएका थिए। शान्त वातावरणमा सफलताकासाथ सम्पन्न भएको कार्यक्रमको अन्तमा हल्का खाना, फोटो सेसन र विचार विमर्श गर्दै अर्को वर्ष फेरि भेला हुने वाचा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *