प्रचण्डलाई ३२ वर्षदेखि साथ दिएका हरिबोलकाे माओवादीमा उपेक्षा

वर्षमानका दम्पत्ती नै चुनावमा उम्मेदवार बन्दा गजुरेल उम्मेदवार सिफारिस समेत भएनन्

शरद रिजाल
१६ कार्तिक २०७९ ७:२८

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल यसपटक बिगतदेखि दुई कार्यकालसम्म निरन्तर निर्वाचित सिन्धुलीं–२ मा उम्मेदवारको आकांक्षी थिए। उनलाई अन्तिम समयमा पार्टी नेतृत्वले टिकट नदिएपछि चुनावी कार्यक्रममा नै सरिक नभएर निष्कृय बसेका छन्।

सिन्धुली-२ मा माओवादीले पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ लाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएको छ।
गजुरेलले आफूले चुनावमा टिकट नपाउनुका् कारणबारे स्पष्ट खुलाउन अध्यक्ष प्रचण्डसँग माग गर्दै पार्टीमा लिखित पत्र समेत पेश गरेका छन्।

आफ्नो पत्रको पदाधिकारी बैठकबाटै औपचारिक सुनुवाई नहोउञ्जेल कुनै पनि चुनावी कार्यक्रममा सहभागिता नजनाउने पूर्ववत् अडानमा गजुरेल अहिले पनि अडिग छन्। वर्षमान पुनले काठमाडौं-२ बाट श्रीमती ओनसरीलाई टिकट दिलाउँदा हरिबोलले आफ्नै क्षेत्रमा टिकट पाएनन्। जबकी उनी त्यस क्षेत्रका प्रभावशाली नेता हुन्।

माओवादीका अधिकांश नेताहरु पटक पटक दोहोरिदा गजुरेललाई यस पटक चुनावी दौडबाट बञ्चित गरिएको छ। दर्जनौं दम्पत्ती माओवादीबाट आलोपालो सांसद बनेकाहरुको बिगत १५ वर्षदेखिको सूची निकै लामो छ। कतिपय दम्पत्ती नै हाल प्रत्यक्षतर्फ चुनावी मैदानमा उठाइएका छन् भने कतिपयको समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएको छ।

सबै नेताहरुले टिकट पाउँदा हरिबोलले नपाउनु अस्वभाविक र अप्रत्याशित भएको भन्दै माओवादीका नेता कार्यकर्ताले पनि असन्तुष्टि जनाएका छन्।
माओवादीका एक स्थायी समिति सदस्य हरिबोललाई ‘जनमत छैन’ भन्दै टिकट नदिइनु पार्टीभित्र अन्यायपूर्ण कार्य भएको बताउँछन्।

पार्टीका पुराना सहयात्री र जीवनपर्यन्त नेतृत्वलाई साथ दिएका गजुरेलललाई टिकट नदिइनु समग्र कार्यकर्ता र नेतामाथिको अपामानजनक ब्यबहार भएको उनको भनाइ छ।

लामो समयदेखि पार्टी र आन्दोलनमा निरन्तर जोडिएका गजुरेल माथि अपमानजनक ढंगले टिकट नदिइनु समग्र त्याग र बलिदान गरेका कार्यकर्ता माथिकै अन्याय भएको माओवादीका ती स्थायी समिति सदस्य को भनाइ छ। टिकट पाउनुमात्रै प्रधान बिषय नभए पनि अपमानजनक ब्यबहार गर्नु दुखद् भएको ती स्थायी समिति सदस्य बताउँछन्।

उनले भने, ‘टिकट पाउनु मात्रै ठूलो बिषय होइन। तर उहाँले भनेजस्तै अध्यक्षले तपाईंको जनमत छैन, हार्नुहुन्छ भन्ने अपमानजनक अभिब्यक्ति दिएको हो भने एक सहयोद्धामाथि कै अपमान हो।’

नेतृत्वलाई निरन्तर साथ दिएको बदलामा आज हरिबोलमाथि भएको अन्याय भोलि अरुलाई समेत हुने भन्दै आगामी स्थायी समिति बैठकमा आफूले पनि हरिबोलको बिषय उठाउने ती स्थायी समिति सदस्य रहेका माओवादी नेताको दाबी छ।

माओवादी आन्दोलनमा लागेका पुराना नेताहरुमध्ये गजुरेल एक हुन्। उनलाई समकालीन माओवादी नेताहरुमा अग्रपंत्तीमा पर्दछन्। तर पछिल्लो समयमा अध्यक्ष प्रचण्डले उनलाई किनाराकृत गर्न खोजेकोप्रति अधिकांश नेता कार्यकर्ताहरु सशंकित बनेका छन्।

माओवादीका अर्का एक नेताले हरिबोलप्रति प्रचण्ड किन क्रुद्ध बन्दैछन् भन्नेबारे आफूले बुझ्न नसकेको डिसी नेपालसँगको कुराकानीमा बताएका छन्।
उनले पुराना सहयात्री र सहयोद्धालाई अपमानजनक ढंगले टिकट नदिइनु माओवादी पार्टीभित्र निष्ठावान र इमान्दार नेता कार्यकर्ताहरुलाई गर्नु दुखद् र खेदजनक रहेको बताए।

पार्टीमा लामो समयदेखि अभिछिन्न रुपमा आजीवन लगानि र योगदान गरेका इमानदार कार्यकर्ता भन्दा नेतृत्वको आसेपासेलाई अवसर दिने प्रवृत्ति हाबी भएको र त्यसैको उपज गजुरेलले टिकट नपाएको उनको बुझाइ छ।

यस बिषयमा गजुरेलको प्रतिक्रिया लिँदा उनले आफूलाई अध्यक्ष प्रचण्डले ‘तपाईंको जनमत छैन, चुनाव लडे हार्नुहुन्छ’ भनेको बताउँछन्। आफूलाई सहमतिपूर्वक ‘छाड्नुस् नयाँलाई अवसर दिऔं’ भनेको भए सहस्र स्वीकार्ने गजुरेलको तर्क छ।

तर अपमानजनक ढंगले जनमत छैन भन्दा आफूलाई पीडाबोध भएको गजुरेलले बताए। सोही कारणले चुनावी कार्यक्रममा सहभागी नभएको उनी बताउँछन्।

उनले भने, ‘तपाईंको जनमत छैन भन्नुभयो दुख लाग्यो। अब म जनमत नै नभएको मान्छे रहेको उहाँलाई लागेको रहेछ, उहाँले सिधै त्यसो भन्दा मेरो अवमुल्यन गरेजस्तो भयो।’

माओवादीका पुराना इमानदार र निष्ठावान नेता गजुरेल सदैव प्रचण्डका सारथिको रुपमा बिगत ३२ वर्षदेखि आजसम्म क्रियाशील छन्। एकता केन्द्रकालदेख्रि जनयुद्ध र त्यस पछाडि २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी) बिभाजन हुँदा समेत उनले प्रचण्डको साथ छाडेनन्।

सिन्धुलीका प्रभावशाली पुराना माओवादी नेता सिपी गजुरेललगायत अन्य बिभाजित मोहन बैद्य नेतृत्वको पार्टीमा जाँदा समेत हरिबोलले प्रचण्डलाई निरन्तर साथ दिइरहे।

२०७० को निर्वाचनमा माओवादीका शीर्ष नेताहरु देशब्यापी चुनावमा पराजय हुँदा उनले सिन्धुली २ बाट निर्वाचन जितेका थिए त्यतिबेला देशब्यापी पराजित माओवादी नेताकार्यकर्तालाई गिरेको मनोवल उनको जीतले उठाएको थियो।

२०४७ देखि आजसम्म नियमितरुपमा दिइएको जिम्मेवारीलाई वहन गरेका उनी पार्टी र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएका छन्। त्यसैको प्रतिफलस्वरुप प्रचण्डले अपमानजनक ब्यबहार गजुरेललाई गरेको माओवादी सिन्धुलीका नेता कार्यकर्ताहरु बताउँछन्।

गत वर्ष असारमा माओवादीको पार्टी समायोजन कार्यदल सदस्य रहेका हरिबोल गजुरेल उक्त समितिमा उनीसँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र देवेन्द्र पौडेल रहेका थिए।

कार्यदलको सदस्य समेत रहेका गजुरेलले पार्टीलाई राजनैतिक र वैचारिक रुपमा चलायमान बनाउन उपयुक्त सुझाब लिपिबद्ध गरेका थिए। तर त्यसको कार्यान्वयन गर्नुको साटो ती सुझाबलाई नजरअन्दाज गरिएको उनको भनाइ छ।

पार्टीलाई विचार राजनीति स्पष्ट कार्यक्रमकले दिशानिर्देश गर्ने भन्दा सीमित नेताको चाहना र मनोकांक्षाले सञ्चालन गर्दा वर्तमान अबस्था आएको निश्कर्षमा पुगेका गजुेरेलले प्रष्टताका साथ कार्यदलमा आफ्नो मत राखेका थिए।

पार्टीलाई गुटबन्दी मुक्त बनाउनुपर्छ । कम्युनिष्ट पार्टी समाप्त हुनुको मुलकारण गुटबन्दी नै भएको भन्दै पार्टीमा गुटबन्दी निस्तेज गर्नुपर्ने जोडदार ढंगले माग गरेका गजुरेल अन्ततः आफैं प्रचण्डबाट गुटबन्दीको सिकार बन्न पुगे।

पार्टीभित्रका कमीकमजोरी र पछिल्लो समय विकसित हुँदै गएको इमानदार र प्रतिबद्ध नेता कार्यकर्तालाई अवमुल्यन गर्दै किनाराकृत गर्ने प्रवृत्तिको स्पष्ट र निर्भिकताका साथ विरोध गर्ने उनीमाथि नै अन्ततः सोही प्रवृत्ति नै लादिएको भन्दै माओवादी नेता कार्यकर्ताहरुले असन्तुष्टि ब्यक्त गर्दै आएका छन्।

उनले कार्यदलको बैठकमा सदैब पार्टीलाई वैचारिक राजनीतिक रुपमा स्पष्ट र आजको युग सुहाउदो नयाँ विचारको विकास गर्नुपर्ने प्रस्ताव निरन्तर राखेको माओवादी स्रोत बताउँछ। यद्यपि पार्टी र नेतृत्वले उनको प्रस्ताव ग्रहण गर्नुपर्नेमा त्यसो नगरी हरिबोलको राय सुझाबलाई बेवास्ता गरियो।

उनले उठाएका बिषयलाई पार्टीले अवलम्बन गरेन। बरु उनले उठाएका जायज र पार्टीलाई विचार  सिद्धान्तले मार्गनिर्देशित गर्ने प्रस्ताबप्रति पूर्वाग्रह साधिँएको माओवादीका एक नेताले बताए।

पार्टीमा विकास भएको गलत संस्कार र झाँगिंदै गएको गलत प्रवृत्तिका विरुद्धमा आवाज उठाउँदा त्यसैको प्रतिफलस्वरुप उनीबिरुद्ध अपमानजनक ढंगको ब्यबहार र टिकट नदिइएको माओवादीका नेता कार्यकर्ताको ठहर छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *