चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छः शिक्षामन्त्री पौडेल

डिसी नेपाल
१६ कार्तिक २०७९ २२:१०

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। बडिगाड गाउँपालिका–३ सिसाखानीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा उहाँले मतदातालाई स्वतन्त्रपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।

“सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउँछ”, मन्त्री पौडेलले भने । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे । “पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन”, उनले भने ।

मुद्दा र देशको आवश्यकताका आधारमा पाँच दल एकठाउँ उभिएको मन्त्री पौडेलले बताए । संविधानका उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको उनको भनाइ छ । मन्त्री पौडेलले चुनावपछि अहिलेकै गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिने र संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादोन्मुख राज्य व्यवस्थाको आधार खडा गर्ने बताए ।

सो क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार मञ्जु शर्मा चालिसेसँग उहाँको प्रतिस्पर्धा हुँदैछ । विसं २०७४ को चुनावमा पनि मन्त्री पौडेल बागलुङ २ बाट निर्वाचित हुनुभएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *