मधेश आन्दोलनको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकताः उपेन्द्र यादव

डिसी नेपाल
१८ कार्तिक २०७९ १८:२७

राजविराज । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकतामा रहेको बताएका छन् ।

शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उपलब्धि रक्षाका लागि सचेत रहन आग्रह गरे ।

‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो’( सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’

अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफु मधेशलाई आधारभूमी बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए । संघीयता र गणतन्त्र जस्ता उपलब्धी हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भईरहेको बताए ।

मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफुहरुको लागि गौरबको विषय रहेको उनको कथन थियो । सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दावी दोहर्याए ।

जिल्लामा रहेको औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सिमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढिसकेको प्रतिनीधि सभा सदस्यका प्रत्यासी समेत रहेका जसपा अध्यक्ष यादवले जानकारी दिए ।

कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका प्रत्यासी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको उदाहरणीय कामहरुबारे चर्चा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *