उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गर्दैछन्ः प्रचण्ड
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताए ।
“यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो”, अध्यक्ष दाहालले भने, “अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।”
उनले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताए । “हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ”, उनले भने ।
अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment