रूसी तेलमाथि अमेरिकाले लगाएको प्रतिबन्धको भारतले यसरी धज्जी उडाइदियो !
काठमाडौं । रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएपछि अमेरिकाले तेल आपूर्ति कायम राख्न भारततिर फर्केको छ । बजार स्रोतका अनुसार विश्वका तेल व्यापारी भिटोल र ट्राफिगुरा दुवैले भारतीय रिफाइनरी नायरा इनर्जीबाट प्रति ब्यारेल १० देखि १५ डलरमा भ्याकुम ग्यास आयल (भीजीओ) एक–एक कार्गो खरिद गरेका छन् ।
स्रोतका अनुसार डिसेम्बरमा भारतको वाडिनार बन्दरगाहबाट यो कार्गो अमेरिका वा युरोप जानेछ । भिजिओ एक प्रकारको कच्चा तेल हो जसबाट पेट्रोल र डिजेल बनाइन्छ। यसअघि अफ्राम्याक्स ट्याङ्कर सांघाई डनले पनि रिलायन्स इन्डस्ट्रिजको जामनगर पोर्टबाट कम्तीमा ८० हजार टन भिजीओ किनेको थियो । यो खेप अक्टोबरको अन्त्यमा वा नोभेम्बरको सुरुमा अमेरिका पुग्यो।
गत वर्षको तुलनामा यो वर्ष भारतले अमेरिकालाई धेरै मात्रामा भ्याकुम ग्यास तेल आपूर्ति गरेको छ । मे २०२१ मा, अमेरिकाले भारतबाट एउटा मात्र कार्गो भिजीओ किनेको थियो। यसैबीच, यो वर्ष अमेरिकाले हालसम्म कार्गो भिजीओ का धेरै खेपहरू किनेको छ।
युक्रेन युद्धअघि रुसले अमेरिकालाई सबैभन्दा बढी भिजीओ निर्यात गर्दथ्यो । युक्रेनसँगको युद्धका कारण रुसले धेरै प्रतिबन्धको सामना गरिरहेको छ । अमेरिका र क्यानडाले रुसबाट तेल खरिदमा पूर्ण प्रतिबन्ध लगाएका छन् । योसँगै युरोपियन युनियनले पनि ५ डिसेम्बर र ५ फेब्रुअरी २०२३ देखि रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने भएको छ ।
भारत विश्वको तेस्रो ठूलो तेल खरिदकर्ता हो । अमेरिकालगायत पश्चिमी मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाए पनि भारतले रुसबाट सहुलियत मूल्यमा ठूलो परिमाणमा कच्चा तेल खरिद गरिरहेको छ । भारतले यो कच्चा तेल प्रशोधन गरी महँगो मूल्यमा पश्चिमा मुलुकमा निर्यात गरिरहेको छ ।
अमेरिका र युरोपेली संघले लगाएको प्रतिबन्ध रिफाइन्ड तेलमा लागू नहुने भएकाले भारतले प्रशोधित तेल आपूर्ति गरिरहेको छ । त्यसैले अमेरिका लगायत सबै पश्चिमी देशले भारतलाई विकल्पको रुपमा हेरिरहेका छन् ।
यसैबीच भारतीय रिफाइनरी कम्पनीहरूले पनि रुसबाट सहुलियत मूल्यमा तेल खरिद गर्ने गरेका छन् । एक तथ्यांकअनुसार अप्रिलदेखि अक्टोबरसम्म भारतले रुसबाट दैनिक ७ लाख ९३ हजार ब्यारेल कच्चा तेल किनेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा दैनिक ३८ हजार ब्यारेल मात्र आयात भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment