चुनाव नजिकिँदै गर्दा सुदूरपश्चिममा बढ्यो आपराधिक गतिविधि

डिसी नेपाल
२९ कार्तिक २०७९ १६:४७

धनगढी । आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र ख का उम्मेदवार अमरबहादुर साउँदले प्रयोग गरेको गाडी तोडफोड भएको समाचार आयो । चुनावी प्रचार–प्रसारका क्रममा साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी घोडाघोडि नगरपालिका–५ मा पार्किङ गरेर राखेको बेला अज्ञात समूहले तोडफोड गरेको उम्मेदवारको भनाइ छ ।

२३ कात्तिकमा  धनगढी–१७ डुमलियामा नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएको  बा ११ च ५८६० नम्बरको कारमा पनि अज्ञात समूहले तोडफोड गरेको थियो । तर, सो सवारी हालसम्म कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कैलाली लगायत सुदूरपश्चिममा आपराधिक गतिविधि पनि बढ्न थालेका माथिका दुई उदाहरण हुन् । पछिल्लो समय केही स्थानमा झडप हुने र उम्मेदवारका सवारी तोडफोड हुने क्रम बढेपछि सुरक्षा चुनौती बढेको प्रहरीको भनाइ छ ।

‘चुनावको मिति नजिकिँदै गर्दा केही स्थानमा उच्छृंखल गतिविधि भइरहेका छन्,’ प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एवं एसएसपी भोलाबहादुर रावलले भने, ‘खास गरी उम्मेदवार लक्षित गरेर हुने गतिविधिले जोखिम झनै बढाएको छ, यसलाई रोक्न थप सुरक्षा बल खटाउने थयारी गरेका छौं ।’

चुनाव नजिकिएसँगै दार्चुलामा दुईवटा झडपसमेत भएका छन् । आइतबार दिउँसो दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच झडक हुँदा दुईजना घाइते भएका थिए । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भएको झडकमा परी नौगाढ गाउँपालिका ५ का २४ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का ३४ वर्षीय जयसिंह धामी घाइते भएका थिए । जयसिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

यसैगरी २३ कात्तिकमा दार्चुलाकै अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी, अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका थिए ।

प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी रावलका अनुसार राजनीतिक दलको नेतृत्व जिम्मेवार बन्न नसक्दा कार्यकर्ताबीच झडप हुने गरेको छ । ‘नेतृत्वले कार्यकर्तालाई जोशमा आउने गरी भाषण दिने गर्दछन्,’ रावलले भने, ‘त्यसको असर कार्यकर्तामा पर्नेगरेको छ ।’ सुदूरपश्चिमका पहाडी जिल्लामा मुड्भेड र झडप बढि हुनेगरेको उनले बताए ।

उनले सुरक्षा चुनौती देखिएका स्थानमा थप सुरक्षाबल पठाइने गरेका बताए ।  ‘प्रदेशभरका ५५२ मतदान केन्द्रलाई सुरक्षा वा भौगोलिक विकटताका दृष्टिले संवेदनशील सूचीमा राखेर त्यसैअनुसारको सुरक्षा व्यवस्था परिचालन गरिएको छ,’ एसएसपी रावलले भने, ‘त्यसबाहेक चुनावका दौरान अपराधिक क्रियाकलाप भएका स्थानमा हामीले थप सुरक्षाकर्मी परिचालन गरिरहेका छौं ।’

सुदूरपश्चिम प्रदेशका धेरै जिल्ला भारतसँग सिमाना जोडिएका हुँदा सीमानाका आसपासका मतदान केन्द्रलाई संवेदनशील क्षेत्रमा राखिएका छन् । त्यसैगरी केही मतदान केन्द्रलाई भौगोलिक विकटताका दृष्टिले संवेदनशील सूचीमा राखिएका रावलले बताए । संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने गरिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर सुदूरपश्चिममा ६ हजार ४१० जना नेपाल प्रहरी, ११ हजार ५५९ जना म्यादी प्रहरी, साढे तीन हजार सशस्त्र प्रहरी र ६ हजार बढी नेपाली सेना परिचालन हुने छन् ।

घटना लुकाउन खोज्दा थप चुनौति थपिंदै

चुनावी प्रचारप्रसारका क्रममा आइतबार कैलाली क्षेत्र नम्बर–३ को प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेदवार अमरबहादुर साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी घोडाघोडि नगरपालिका–५ मा पार्किङ गरेर राखेको बेला अज्ञात समूहले तोडफोड गरेको उम्मेदवारको भनाइ छ । ‘तर सो विषयमा प्रहरीलाई भने कुनै जानकारी छैन । मिडियामा समाचार आएपछि घटनाबारेमा हामीले जानकारी पाएका हौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘तर उम्मेदवारले त्यस विषयमा प्रहरीलाई जानकारी गराएको छैन ।’

चुनावी प्रचारप्रसारका क्रममा स्थानीयस्तरमा हुने धेरै घटना प्रहरीलाई जानकारी नदिएरै गोप्य राख्न खोज्दा त्यसले थप दुर्घटनाको जोखिम बढाउने गरेको प्रवक्ता जोशी बताउँछन् ।

स्थानीयस्तरमा हुने सामान्य घटनालाई दलहरूले लुकाउन खोज्दा त्यसले पछि उग्ररुप लिएका धेरै घटना छन्,’ जोशीले भने, ‘त्यसैले स्थानीयस्तरमा हुने सामान्य घटनाको पनि समयमै प्रहरीलाई जानकारी गराइदिन अनुरोध गर्छु ।’

उनका अनुसार आइतबार राति नागरिक उन्मुक्ति पार्टीको टिकापुर कार्यालयमा अज्ञात समूहले तोडफोड गर्न खोजेको भए पनि सो खबर सोमबार दिउँसो मात्रै प्रहरीलाई दिइएको थियो । यसरी प्रहरीलाई ढिलोगरी खबर दिँदा अनुसन्धानमा जटिलता थपिने गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *