यस्तो ठाउँ जो ६ महिना एउटा देशमा र अर्को ६ महिना अर्को देशमा पर्छ

डिसी नेपाल
१ मंसिर २०७९ १६:३२

काठमाडौं । फ्रान्स र स्पेनको सिमानामा एउटा यस्तो टापु छ, जसमा दुवै देशले वर्षमा ६–६ महिना सरकार चलाउँछन् । हो, बिना कुनै झगडा र विवाद यी दुई देशले यस टापुमा ६-६ महिना शासन गरेका छन् ।

फिजेन्ट नामको यो टापु १ फेब्रुअरीदेखि ३१ जुलाईसम्म स्पेनको नियन्त्रणमा हुन्छ र बाँकी ६ महिना अर्थात १ अगस्टदेखि ३१ जनवरीसम्म फ्रान्सको नियन्त्रणमा रहन्छ। विशेष कुरा के छ भने विगत ३५० वर्षदेखि दुवै देशले यही परम्परालाई पालना गर्दै आएका छन् ।

दुई देशको सिमानाको बीचमा बग्ने विडासो नदीको बीचमा रहेको फिजेन्ट टापुमा कोही पनि बस्दैनन् । विशेष दिन बाहेक यस टापुमा कसैलाई जान अनुमति छैन। फ्रान्सेली र स्पेनी सेनाहरू टापुको दुबै छेउमा तैनाथ छन्।

बीबीसीको रिपोर्टका अनुसार यो टापु एकदमै शान्त ठाउँ हो, जहाँ एक ऐतिहासिक भवन पनि बनेको छ, जसको सम्बन्ध सन् १६५९ मा भएको घटनासँग जोडिएको छ। सन् १६५९ मा टापुको सम्बन्धमा सन्धि भएको थियो ।

वास्तवमा यस टापुलाई लिएर यसअघि फ्रान्स र स्पेनबीच विवाद भएको थियो । तर, दुई देशबीच करिब तीन महिनासम्म वार्ता भयो र सन् १६५९ मा सन्धि भएको थियो । यो सन्धिलाई पाइन्स सन्धि नाम दिइएको थियो। यो सन्धि शाही विवाहसंगै पूरा भएको थियो।

यो विवाह स्पेनका राजा फिलिप चतुर्थ र फ्रान्सेली राजा लुइस चौधौको छोरीको थियो। अहिले दुवै देशले यस टापुलाई आलोपालो प्रक्रियाबाट शासन गरिरहेका छन्। एउटै टापुमा दुवै देशको शासनलाई कन्डोमिनियम भनिन्छ।

सीमावर्ती स्पेनी सहर सान सेबास्टियन र फ्रान्सको बेयोनका नौसेना कमाण्डरहरूले टापुको कार्यवाहक गभर्नरको रूपमा काम गर्छन्। जुन देशको यस टापुमा ६ महिना शासन हुन्छ, त्यही देशको प्रशासन त्यहाँ लागू हुन्छ ।

दुई देशको बीचमा रहेको यो टापु एकदमै सानो छ। यो टापु मात्र २०० मिटर लामो र ४० मिटर चौडा छ। यो धेरै दुर्लभ अवसरहरूमा सामान्य जनताको लागि खोलिन्छ। तर, बीबीसीका अनुसार यो टापु वृद्धवृद्धाहरूका लागि मात्रै चर्चाको विषय बनेको छ, किनभने युवाहरूले यसको ऐतिहासिक महत्त्व बुझ्दैनन्।

स्पेन र फ्रान्सको बीचमा रहेको यस ऐतिहासिक टापुको चिन्ताको विषय भनेको यो बिस्तारै समाप्त हुँदैछ। टापुको ठूलो हिस्सा नदीमा मिसिएको छ । यति हुँदाहुँदै पनि दुवै देशले यसलाई बचाउन कुनै प्रयास गरिरहेका छैनन् । न त दुवै देश टापुको उद्धारका लागि पैसा खर्च गर्न तयार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *