स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन, छ सञ्चारमाध्यमले गरे भूलसुधार

डिसी नेपाल
२ मंसिर २०७९ २१:१९

काठमाडौं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये छ सञ्चारमाध्यमले भूलसुधारसमेत गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार दुईवटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन सञ्चारमाध्यम र एक वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भूलसुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न÷नगराउन भनेको छ । अनलाइन सञ्चारमाध्यमको हकमा तत्काल हटाई काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् छ वटा सञ्चारमाध्यमले क्षमायाचनासहित सामग्री हटाई आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न÷नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *