देबिना बेनर्जी र गुरमित चौधरीले देखाए आफ्नो नयाँ फार्महाउसको झलक: जिम, स्विमिङ पुलदेखि घोडासम्म राखिने

डिसी नेपाल
२७ साउन २०८३ १२:२४

काठमाडौं । देबिना बेनर्जी र गुरमित चौधरी टेलिभिजन क्षेत्रका अत्यन्तै लोकप्रिय जोडी हुन्। ‘रामायण’ शोमा भगवान् राम र सीताको भूमिका निर्वाह गरेपछि यी दुवै घर-घरमा चर्चित बनेका थिए। आज पनि प्रशंसकहरूले उनीहरूलाई राम-सीताकै रूपमा हेर्ने गर्छन्।

देबिना र गुरमित अभिनयका साथै युट्युब भ्लगर पनि हुन्। उनीहरू आफ्नो युट्युब च्यानलमार्फत प्रशंसकहरूसँग निरन्तर जोडिरहन्छन् र आफ्ना सुख-दुःखका कुराहरू सेयर गरिरहन्छन्।

हालै यस जोडीले आफ्ना प्रशंसकहरूलाई निर्माणधिन नयाँ ‘फार्महाउस’ को भ्रमण गराएका छन्। दुई वर्षअघि देबिना र गुरमितले मुम्बईभन्दा केही टाढा फार्महाउसका लागि जग्गा खरिद गरेका थिए। उनीहरूले आफ्ना छोरीहरूबाट पूजा गराएर सो फार्महाउसको जग राखेका थिए।

दुई वर्षपछि अहिले गुरमित र देबिनाको फार्महाउस निर्माणको काम तीव्र रूपमा अघि बढेको छ। भ्लगमा उनीहरूले फार्महाउसको प्रारम्भिक ढाँचा (स्ट्रक्चर) तयार भइसकेको देखाएका छन्।

देबिना र गुरमितका अनुसार उनीहरूको फार्महाउसमा स्विमिङ पुल र जिमको सुविधा पनि रहनेछ। आफूहरू फिटनेसप्रेमी भएकाले फार्महाउसमा फिट रहनका लागि आवश्यक सबै प्रबन्ध मिलाइने उनीहरूले बताएका छन्।

देबिनाका अनुसार उनी आफ्नो फार्महाउसलाई ‘किड्स फ्रेन्डली’ (बालमैत्री) बनाउन चाहन्छिन्, ताकि त्यहाँ बालबालिकाहरू आएर सजिलैसँग खेल्न सकून्।

यसैबिच, गुरमितले फार्महाउसमा घोडा पनि राख्ने योजना रहेको बताएका छन्। श्रीमान्को यो कुरा सुनेर देबिना भने आश्चर्यचकित हुन्छिन्। देबिनाले भने आफूले फार्महाउसमा तरकारी तथा खेतीपातीसमेत गर्ने सोच बनाएको पहिले नै बताइसकेकी छन्।

गुरमित र देबिनाले फार्महाउस वरपर रहेका पुराना रूखहरू नकाटी त्यसकै बिचमा भवन निर्माण गरिरहेका छन्। हरियालीकै बिचमा बसेर चियाको चुस्की लिन सकियोस् भन्ने उद्देश्यले रूखहरू जोगाइएको उनीहरूको भनाइ छ।

भिडियोमा गुरमितले आफू र देबिना एउटा सूटकेस मात्र बोकेर मुम्बई आएको स्मरण गर्दै आज आफूहरूसँग सबै कुरा रहेको र प्रशंसकका रूपमा एउटा ठूलो परिवार पाएको भन्दै खुसी व्यक्त गरे।

घरको नामको विशेष महत्त्व हुने भन्दै गुरमितले फार्महाउसको नाम के राख्ने भनेर प्रशंसकहरूसँग सुझावसमेत मागेका छन्। साथै, आगामी दिनमा पनि फार्महाउस निर्माणका नयाँ अपडेटहरू भ्लगमार्फत दिइरहने उनीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *