मतदानका लागि उत्साहित मतदाता (फोटोफिचर)

डिसी नेपाल
४ मंसिर २०७९ ११:०९

काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । बिहानैदेखि काठमाडौं उप्रत्यका लगायत देशैभर उत्साहपूर्वक मतदान जारी छ ‌। छिटपुट घटनाबाहेक शान्तपूर्ण वातावरणमा मतदाताहरु मतदान गरिरहेका छन् ।

 

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । मत

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी खटिइएका छन् ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

तबिरहरुः अनिल पोखरेल\डिसी नेपाल+रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *