मतदान गर्दै खेतमा पुगे कृषक, धानबाली भित्र्याउन भ्याइनभ्याइ

डिसी नेपाल
४ मंसिर २०७९ २०:०९
48
Shares

नवलपुर । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनसँगै अहिले यहाँका कृषकलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१० का कृषकहरु मतदान गरेसँगै धानखेती स्याहार्नका लागि खेतमा पुगेका छन् ।

कावासोती–१० मगरकोटका रामबहादुर महतोले बिहानै मतदान गरेर धान थन्काउन खेतमा आएको बताए। “आज बिहानै लाइन बसेर मतदान गरेँ”, उनले भने, “मतदान गरेसँगै खेतमा आएर धानबाली थन्काउने काममा लागेको छु ।” मतदानसँगै वर्षदिन खाने धानबाली भित्र्याउन पाउँदा उहाँ खुसी देखिनुहुन्छ । “धान खेती भने वर्षदिन खाने अन्न हो । तर मतदान गर्ने दिन पाँच वर्षमा एकपटक मात्रै आउँछ”, महतोले भने, “धान स्याहार्न लागेर मतदान गर्न गइएन भने विकासको काम पाँच वर्ष पछाडि धकेलिन सक्छ ।” दुई दिनअघि काटेको धानको कुनिउँ बनाउन खेतमा पुगेको बताए ।

सोही स्थानकी धनमाया सारु पनि काटेको धान उठाउन व्यस्त छिन् । कावासोती–१० स्थित जनता प्राविधिक (टेक्निकल) विद्यालय मतदान केन्द्रमा मतदान गरेर उहाँ खेतमा पुगेका हुन् । “पाँच वर्षमा आउने पर्वमा सहभागी भएँ, आफ्नो जनप्रतिनिधिले आफैँले चुन्ने कुम्भ मेलामा सहभागी हुनै प¥यो नि ।”, सारुले भनिन्, “मतदानसँगै आफूले वर्षभरि खाने अन्नबाली पनि थन्काउनुप¥यो ।”

खेतमा धान काट्ने तथा भित्र्याउने हतार भएको भन्दै सारुले पालैपालो मतदान गर्न गएको बताइन् । “आज धान उठाउने मेलो छ, उता मतदान पनि छ”, सारुले भनिन्, “काम रोक्न पनि भएन, मतदान पनि गर्न प¥यो । त्यसैले हामी साथीहरू मिलेर पालैपालो भोट हालेर आउँदै धान उठाउँदै गर्यौँ ।” कृषकहरू मतदान गर्दै खेतमा अन्नबाली भित्र्याउन पुगेका थिए भने यहाँका युवा मतदातासमेत मतदानपछि निकै उत्साही देखिएका थिए ।

मध्यविन्दु–३ ब्रह्मस्थानका मतदाता ताराप्रसाद पोखरेल पहिलोपटक मतदान प्रक्रियामा सहभागी भएको बताउँछन् । “मेरो मतदाता सूचीमा नाम पनि थियो । भोट हाल्ने बेला विदेशमा भएकाले मतदान प्रक्रियामा सहभागी हुन पाएको थिइनँ”, पोखरेलले भने, “यसपालि भने मतदानको तीन दिनअघि घर आइपुगेँ र आज मतदान गर्ने अवसर पाएँ ।” पहिलोपटक मतदानमा सहभागी हुन पाउँदा खुसीको सञ्चार भएको पोखरेलको भनाइ छ ।

“हामीले हाम्रा प्रतिनिधि चुनेर पठाउने दिनमा आफूलाई पनि सहभागी गराउन पाउँदा निकै खुसी लागेको छ”, पोखरेलले भने, “निर्वाचित भएर जाने जनप्रतिनिधिहरूले युवामैत्री ऐन, कानून निर्माण गरेर युवालाई विदेसिनबाट रोक्नुपर्छ ।” स्वदेशमा नै रोजगारीको अवसर सिर्जना भएको अवस्थामा युवाहरू विदेश पलायन हुने क्रम घट्ने पोखरेलको भनाइ छ । “बेरोजगार युवाहरूलाई सीप सिकाउने र उनीहरूलाई यहीँ नै अवसरको सिर्जना गर्नतर्फ सरकार लाग्नुपर्छ”, पोखरेलले भन्नुभयो, “त्यसका लागि युवाको समस्या बुझ्ने र युवाहरूको भावनाको कदर गर्ने जनप्रतिनिधिले जित्नुपर्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *