राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन

काठमाडौं। २०६४ मा माओवादी र २०७० मा राप्रपाले अप्रत्यासित रूपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ धेरै सिट पाएका थिए। ६०१ संविधानसभामा माओवादीले एक सय १० सिट समानुपातिकबाट पाएको थियो। प्रत्यक्षमा पनि त्यतिकै सिट जितेर ठूलो दल बनेको थियो।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राप्रपाले समानुपातिकमा अप्रत्यासित नतिजा ल्याएको थियो। त्यसबेला गाई चुनाव चिन्ह भएको राप्रपाले चार सिट प्रत्यक्षमा र २४ सिट समानुपातिकमा प्राप्त गरेको थियो।
नौ वर्षपछिको आमनिर्वाचनमा राप्रपाले जबर्जस्त कमब्याक गरेको छ। राप्रपामा अहिले राजेन्द्र लिङ्देन अध्यक्ष छन्। एक वर्षअघि भएको महाधिवेशनमा उनले कमल थापालाई पराजित गरेर नेतृत्व हातमा लिएपछि राप्रपामा शुद्धीकरण भएको यो निर्वाचनले पनि देखाउँछ।
सत्तागठबन्धनलाई चुनौती दिँदै राप्रपाले धेरै प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवार बनायो। एमालेसँग झापा ३, रुपन्देही ३ र बाँके २ मा तालमेल गरेर उसले नतिजा शतप्रतिशत आफ्नो पक्षमा पार्ने संकेत गरेको छ । झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देन झन्डै तीन हजार मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाभन्दा अघि छन् । अहिले पनि मतगणना जारी छ।
बाँके २ मा राप्रपा महामन्त्री धवलशमशेर राणाले जितिसकेका छन्। उनले त्यहाँ जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरे। रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा र कांग्रेसका बालकृष्ण खाणबीच थोरै मतान्तर छ। जसले पनि चुनाव जित्ने स्थिति छ।
मकवानपुर १ मा दीपक सिंह विजयी भएका छन्। काठमाडौं १ बाट राप्रपाका रवीन्द्र मिश्रले झन्डै झन्डै चुनाव जितेका थिए। उनी कांग्रेसका प्रकाशमान सिंहभन्दा एक सय २७ मतले पराजित भए। राप्रपाले अहिलेसम्म तीन सिट जितेको छ। चारमा अग्रता छ । यदि चारवटै जितेमा ६ सिट हुनेछ । रुपन्देही ३ पनि जितेमा सातवटा हुनेछ।
समानुपातिकमा पनि राप्रपाले थ्रेसहोल्ड कटाउने देखिएकाले राप्रपाले यो निर्वाचनमा कम्तीमा १० जना सांसद जित्ने सम्भावना छ । १० सिटसहित प्रतिनिधिसभामा पुगेमा राप्रपा बलियो शक्ति बन्ने निश्चित छ ।
Facebook Comment